काभ्रे – नेपाली कांग्रेस काभ्रेले ब्लड क्यान्सरबाट पीडित तेमाल गाउँपालिका वडा नं. ७ का ११ वर्षीय अंकितकुमार मोक्तानको उपचारको लागि आर्थिक सहयोग गरेको छ ।
काभ्रे कांग्रेस क्षेत्र नं. १ को प्रदेश सभा १ (क)को अगुवाइमा सहयोग संकलन गरी मोक्तानको उपचारका लागि ३ लाख २७ हजार १ सय रुपैयाँ सहयोग हस्तान्तरण गरिएको छ ।
बुधबार वाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिंचाइमन्त्रीसमेत रहेका कांग्रेस काभ्रेका सभापति तीर्थ लामाले पीडितका बुबा अनिलकुमार र आमा शान्ति तामाङलाई हस्तान्तरण गरेका हुन् । सहयोगप्रति आभारी प्रकट गर्दै अंकितका बुबा अनिलले भने, ‘प्राप्त सहयोगले बाबुको उपचार गर्न सहज हुनेछ ।’
सहयोग हस्तान्तरण गर्दै मन्त्री लामाले बालकको उपचारको लागि पार्टीका साथीहरुबाट सहयोग संकलन गरी हस्तान्तरण गरिएको बताउँदै सरकारको तर्फबाट पनि उपचारमा सहयोग गर्ने प्रतिवद्धता जनाए। सहयोगप्रति आभारी रहेको जनाउँदै आफ्नो बाबुले नयाँ जीवन पाउने आशा जागेको बताए।
अंकितको उपचारमा सहयोग पुगोस् भन्ने उद्देश्यले कांग्रेस प्रदेश १ (१) क्षेत्रीय कार्यसमिति सदस्यबाट संकलित १ लाख १ सय र अन्य सहयोगी दाताबाट गरी ३ लाख २७ हजार १ सय रकम हस्तान्तरण गरिएको अभियानको संयोजन गरेका कांग्रेस प्रदेश १ १क) क्षेत्रीय कार्यसमिति कोषाध्यक्ष रमेश तामाङले जानकारी दिए ।
सहयोग हस्तान्तरणका क्रममा कांग्रेस क्षेत्र नं १ (१) का सभापति राम योञ्जन, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, भुम्लु गाउँपालिका उपाध्यक्ष दावा लामा, महाभारत गाउँपालिका उपाध्यक्ष सागर मोक्तान, महाधिवेशन प्रतिनिधि शान्ति तामाङ, कांग्रेस क्षेत्र नं १ (१) का उपसभापति रणबहादुर तामाङ, सचिव दावा फेञ्चु लामा, कांग्रेस क्षेत्र नं २ (१) का सचिव सञ्जय तामाङलगायत नेता, कार्यकर्ताको उपस्थिति थियो ।





















