देउवा, प्रचण्ड र ओलीलाई भाबुक बनाउने बाबुरामको एक ‘शब्द’

काठमाडौं – नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले विभिन्न पार्टीका शिर्ष नेताहरुलाई भाबुक बनाएका छन् । प्रतिनिधिसभाको अन्तिम बैठकलाई सम्बोधन गर्दै डा. भट्टराई कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भाबुक बनाएका हुन् ।

मुलुकमा युवापुस्ताको विद्रोहको लहर आएको भन्दै यो लहरले शिर्ष नेतालाई बढार्ने बताए । बैठकमा सम्बोधन गर्दै उनले युवा पुस्ताको विद्रोहको लहर आएको बताउादै बालेन शाह र हर्क साम्पाङहरु सानो झिल्को मात्र भएको जिकिर गरे ।

‘यसलाई सम्बोधन गर्न सक्नुभएन भने गाउँठाउँमा त प्रभाव नपर्ला, हाम्रो संगठनको बलमा चुनाव जितिएला’ भट्टराईले भने, ‘तर शहरी क्षेत्रहरुमा त्यति सहजै चुनाव जित्नेवाला हामी छैनौं । हामी को को बढारिन्छौं म भन्न सक्दिन, मलाई त आत्मविश्वास छैन ।’

भट्टराईले युवा पुस्तामा असन्तुष्टि रहेको भन्दै शिर ठाडो पारेर मत माग्न जाने अवस्था नभएको बताए । ‘युवापुस्ताको असन्तुष्टि छ, त्यसलाई कम नआँक्नुस् । पाँच वर्षको समीक्षा गर्दा हामी पास हुन सकेनौं । हामीले गल्ती गर्‍यौं’ उनले भने ।

राजनीतिक आन्दोलनका क्रममा त्याग र बलिदान गरेवापत अहिलेसम्म जनताले चुनेर पठाइरहेको भन्दै भट्टराईले तर हालका राजनीतिक दलहरुले जनताको आकांक्षा सम्बोधन गर्न नसकेको बताए ।

‘त्यसलाई सच्याएनौं भने आगामी निर्वाचन तपाई हामीलाई सहज हुनेवाला छैन’ उनले भने । कमी कमजोरी सुधारेर राष्ट्रियता, लोकतन्त्र, आर्थिक विकास र समृद्धिका विषयमा नयाँ अवधारणा लिएर जान सकेमा मात्र पुन जित हासिल गर्न सकिने भट्टराईले बताए ।

‘त्यसो हुन सक्यो भने आगामी प्रतिनिधिसभामा हाम्रो भेट हुनेछ । नत्र तपाईं हामीमध्ये कति भेट हुन्छौं म भन्न सक्दिन । म आफैं यहाँ हुन्छु कि हुन्न भन्न सक्दिन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...