काठमाडौं – मेटमणि चौधरी अहिले सहरी विकास मन्त्री छन् । मेटमणी मन्त्री भएको महिना दिन पनि भएको छैन् । अहिले जनताको मनजित्नेगरी मेटमणि फिल्डमा खटिएका छन् ।
मन्त्री भएको महिना दिन नबित्दै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले उनको प्रदेश अध्यक्ष पद खाइदिएका छन् । मन्त्री पद भने उनको सुरक्षित छ ।
उनी नेकपा एकीकृत समाजवादी पार्टीको लम्बिनी प्रदेश अध्यक्ष हुन् । मन्त्री बनेपछि उनको अध्यक्ष पद चैट भएको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले एक व्यक्ति एक पदको कार्यान्वयन गर्ने भन्दै चौधरीलाई अध्यक्ष पदबाट हटाएका हुन् ।
बैठकले प्रदेश अध्यक्षमा मेटमणिलाई हटाएर आफ्ना सम्धी सोमप्रसाद पाण्डेलाई अध्यक्षमा बनाएका छन् । पार्टी संगठनमा बढी सक्रिय देखिएका चौधरीलाई हटाएर पाण्डेलाई ल्याइएपछि माधव नेपाललाई परिवारवादको आरोप लागेको छ ।
संघीय सांसदसमेत नेपालका सम्धी पाल्पाका पाण्डेलाई अध्यक्ष चयन गर्ने निर्णयको आलोचना भएको हो ।यसअघि प्रदेश अध्यक्षमा रहेका मेटमणि चौधरी शहरी विकास मन्त्री भएपछि चौधरीकै प्रस्तावमा पाण्डेलाई प्रदेश अध्यक्ष बनाउने सर्वसम्मत निर्णय भएको प्रदेश सचिव राजु गुरुङले जानकारी दिए ।
यस्तै पार्टीको केन्द्र र प्रदेश कमिटीमा रहेका नेताहरूको भूमिका हेरफेर गरिएको छ । जसअनुसार प्रदेश सचिव एवं रुपन्देही अध्यक्ष रहेका राजु गुरुङले जिल्ला अध्यक्षको जिम्मेवारी छाडेका छन् ।
रुपन्देही अध्यक्षमा अविराम विक चयन भएका छन् । विक यसअघि सचिव थिए । यसै गरी उपाध्यक्ष रहेका सिद्धिचरण भट्टराई लुम्बिनी विकास कोषको कोषाध्यक्ष नियुक्त भएपछि उनले पनि जिम्मेवारी छोडेका छन् ।
उपाध्यक्षमा श्रीराम यादव र चिन बहादुर गुरुङ, सचिवमा सरिता श्रीस, उपसचिवमा थानेश्वर खरेल, टंक पोखरेल र मिरा श्रेष्ठ चयन गर्ने जिल्लाको सिफारिस प्रदेश कमिटी बैठकले अनुमोदन गरेको सचिव गुरुङले बताए ।
बैठकले आगामी निर्वाचनलाई लक्षित गर्दै १२ वटै जिल्लामा निर्वाचन अभियान थाल्ने निर्णय गरेको छ । बैठकले रोपाईँको बेलामा किसानले मल नपाएको र महँगीले नागरिकलाई परेको मर्काका विषयमा सरकारलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।
त्यसैगरी प्रदेशका विभिन्न उपसमिति र विभागहरूमा जिम्मेवारी तोकिएको जनाइएको छ । बैठकलाई सम्बोधन गर्दै पार्टी अध्यक्ष माधव नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिएका थिए । बैठकमा समाजवादीका लुम्बिनी प्रदेश इन्चार्ज भागवत विश्वासी, मन्त्री मेटमणि चौधरी, सोमप्रसाद पाण्डेलगायतले सम्बोधन गरेका थिए ।





















