काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह स्थलगत अनुगमनमा जाँदा सम्बन्धित वडाका वडा अध्यक्षहरुले आफूहरुसँग समन्वय नगरेको गुनासो गरेका छन् ।
काठमाडौं महानगरपालिकाको आज बसेको कार्यपालिका बैठकमा सहभागीहरुले मेयर आफ्नो वडामा अनुगमन गर्न आउँदा आफूहरुलाई थाहै नदिइएको गुनासो गरेका हुन् ।
वडा अध्यक्षहरुको गुनासोपछि मेयर साहले अबदेखि जानकारी गराउने प्रतिबद्धता जनाए ।
धरहरा बन्ने तर सुन्धारा डम्पिङ साइट हुनेजस्तो स्थिति नआवस् भनेर आफू सक्रिय रहेको भन्दै उनले मेयर सोही क्षेत्रमा आउँदा आफूले थाहा नपाएको भन्दै उनले दुखेसो पोखे ।
वडा अध्यक्ष पनि मेयरकै प्रतिनिधि भएको भन्दै उनले अबदेखि स्थानीय वडा अध्यक्षहरुसँग समन्वय गरेर अनुगमनमा आउन सुझाव दिए । उनले भने, ‘पशुपति दर्शन गर्न जाँदा, संकटा दर्शन गर्न जाँदा सल्लाह गर्नुपर्छ भन्ने होइन तर महत्वपूर्ण विषयमा जाँदा समन्वय गर्नुपर्छ ।’
काठमाडौं महानगरपालिका वडा नम्बर ७ का अध्यक्ष विमल कुमार होडाले पनि मेयर साह आफ्नो वडामा अनुगमन गर्न आउँदा थाहै नपाएको बताए । उनले अबदेखि आफूलाई जानकारी दिन आग्रह गरे ।
मेयर साहले शनिबारको दिन भएकाले दुःख नदिने भनेर खबर नगरेको प्रष्टीकरण दिए । उनले अबदेखि यस्ता ठाउँमा जाँदा खबर गर्ने प्रतिबद्धता जनाए ।
बैठकमा वडा अध्यक्षहरुले प्लास्टिक उद्योगहरुसँग समन्वय गरेर घर-घरमा फोहोर राख्ने भाँडो उपलब्ध गराउन, ढल सफाइका लागि हरेक वडावालाई एक-एक वटा जेट मेसिन उपलब्ध गराउन, राजश्व लिएर फुटपाथको उचित व्यवस्थापन गर्न, कबाडी संकलन तथा बिक्री गर्ने स्थान हटाउन लगायतका विषयमा सुझाव दिएका छन् ।





















