काठमाडौंमा बालेनले इतिहास रचिरहदा पुर्ख्यौली घरबाट बाहिरियो यस्तो खबर

काठमाडौैं – देशकै संघीय राजधानी काठमाडौं महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन साहले इतिहास रचेका छन्। तर औपचारिक घोषणा हुन भने बाँकी रहेको छ।

देशकै केन्द्रबिन्दु काठमाडौं महानगरको मतगणना चलिरहँदा महोत्तरीको बालेनको पूख्र्यौली गाउँ एकडारा गाउँपालिकाबासीमा खुशीको माहोल छाएको खबर बाहिरिएको छ ।

अन्तिम नतिजा नआउँदै गाउँले गदगद छन्। अन्तिम नजिता घोषणा भएलगत्तै गाउँमा दीपावलीसँगै मिठाइ बाँडेर खुसीयाली मनाउने उनीहरुको तयारी छ। यतिबेला एकडारा गाउँवासीको दृष्टि काठमाडौंको मतगणनाको परिणाममा अडिएको छ।

बेलाबेला गाउँवासीहरु रेडियो सुन्छन्, टिभी हेर्छन्, अनलाइन र समाजिक सञ्जालको भित्तामा मतगणना परिणाम चाहार्छन्। यसको एउटै कारण हो कहिल्यै नसोचेको नतिजा एकडारा गाउँबासीले मात्र होइन, देशले पाउँदैछ। देशकै राजधानीमा यहीँका एक युवक इतिहास रच्दैछन्।

स्वतन्त्रबाट काठमाडौंको मेयरमा जित नजिक पुगेका बालेन शाह बालेन यही गाउँका छोरा÷नाति हुन्। उनको ऐतिहासिक जितमा गाउँले खुसी नहुने कुरै भएन। बालेनका काका बाजेका भाइका छोरा सन्तोष साहले भतिजको जितको खुसीमा गाउँमा मिठाइ बाँड्ने र दीपावली मनाउने तयारी गरेको बताए।

साहले जनकपुरस्थित विश्वकर्मा चोकमा कुन्दन मेडिकल चलाइरहेका छन्। भतिज बालेनले यसरी राजनीतिमा चमत्कार गर्छन् भन्ने उनले कहिल्यै सोचेकै थिएनन्। काठमाडौं महानगरमा उम्मेदवारी दिएर बालेन आफ्नो खानदानको चिराग बनेको र सर्वाधिक चर्चा पाएको भन्दै सन्तोष निकै खुसी देखिएका छन्।

‘बालेन पहिलादेखि नै समाजसेवा, र्याप गीतमा सक्रिय छन्। तर, यसरी राजनीतिमा उनको उदय हुन्छ भन्ने मैले कल्पना नै गरेको थिइनँ’ सन्तोषले भने ‘अब काठमाडौंको मेयर बन्ने निश्चित नै छ। हामी गौरवान्वित छौं।

जसरी पार्टीभन्दा माथि उठेर जनताले विश्वास गरी बालेनलाई मत दिएका छन्। त्यसरी नै उसले समाज र राष्ट्रका लागि उदाहरणीय र ऐतिहासिक काम गरोस् भन्ने मेरो शुभकामना छ।

हुन त चुनावको उम्मेदवारी दर्ता हुनुअघि बालेन एकडारा गाउँपालिकाकै हुन् भन्ने कुरा धेरै छिमेक र गाउँलेलाई पनि थाहा थिएन। बालेनले उम्मेदवारी दर्ता गराउँदा एकाएक मिडिया लगायत सामाजिक सञ्जालमा छाउँदा उनी यसै गाउँका छोरा नाति हुन् भन्ने थाहा पाउन थाले।

स्थानीय संचारकर्मी रहेका दीपक पाण्डे भन्छन् ‘पहिला धेरैलाई थाहा थिएन। बालेनको एकाएक चर्चा चुलिएपछि हामीले थाहा पायौं उहाँ त यही गाउँका छोरा नाति भनेर।’ बालेन जित्ने खुसीमा गाउँमा उत्सवको तयारी भइरहेको उनले जानकारी दिए।

बालेनलाई जितको बधाई शुभकामना दिन गाउँले समूहमा काठमाडौं जाने तयारी गरिरहेको पनि उनले सुनाए। ​बालेनको पुर्ख्यौली घर एकडारा गाउँपालिका वडा नं. १ मा छ। उनका हजुरबुबा मुनिलाल साह तेली गाउँका जमिनदार थिए।

जमिन्दार भएका कारण उनलाई गाउँले महाजन भन्ने गर्थे। १५ वर्षअघि मुनिलालको देहान्त भइसकेको छ।मुनिलालका चारजना छोरा छन्। सबै छोरा घरपरिवारसहित गाउँ बाहिरै बस्छन्। दुई छोरा जनकपुर र दुई काठमाडौं लामो समयदेखि बन्दै आएका छन्।

जसमध्ये एक छोरा हुन् रामनारायण साह। उनी आयुर्वेद डाक्टर हुन्।डा.रामनारायण करिब चार दशक अघि नै काठमाडौंको सिंहदरबारस्थित आयुर्वेद औषधालयमा चिकित्सकको रुपमा काम गर्न गएका थिए। सोही बेलादेखि उनी उतै छन्।

उतै बिहेवारी गरे। उनका दुई छोरा छन् जेठो कौशलेन्द्र र कान्छो बालेन्द्र बालेन। बालेनका हजुरबुबाले अर्जेको करिब ४० बिघा जग्गा अझै गाउँमा छ, जुन उनका चारै छोराको सगोल सम्पत्ति हो। बालेनको पुर्ख्यौली घरमै एकडारा गाउँपालिकाको प्रशासनिक कार्यालय छ।

स्थानीयका अनुसार सो घर गाउँपालिका कार्यालयलाई भाडामा दिएको छ। स्वर्गीय मुनिलाल केही जग्गा स्थानीय गरीब सुकुम्बासीलाई पनि दिएको स्थानीय बताउँछन्। ६ महिना वर्ष दिनमा रामनारायणका परिवार गाउँ आउने गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...