काठमाडौं –
नेपाली सेफ सन्तोष साहले बीबीसी मास्टरसेफ प्रोफेसनल्सको ‘रिम्याच’ उपाधि जितेका छन् ।
सोमबार साँझ बीबीसीमा प्रसारण गरिएको फाइनलमा उनले अन्य प्रतिस्पर्धीहरूलाई पछि पार्दै ‘रिम्याच’ को उपाधि हार पारेका हुन् । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरू सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।
विगतका मास्टरसेफ प्रोफेसनल्स फाइनलिस्टहरुलाई पुन: अवसर दिँदै प्रतिस्पर्धा गराइएको हो । प्रतिस्पर्धामा सन् २०२० का फाइनलिस्टहरु सन्तोष, फिली आर्मिटेज म्याटिन, बार्ट भ्यान डेर ली र सन् २०१७ का फाइनलिष्ट जेमी पार्क थिए ।
यसपटक सन्तोषले कुखुराको तिते, मालपुवा, अनानस बुनिया, सौंप आइसक्रिम, विभिन्न सात प्रकारका तरुवा, तिलौरी बिरिया, भात, मासको दाल, पोलेको कटहर लगायतका १८ प्रकारका
विशुद्ध मौलिक नेपाली परिकारहरू पस्केका थिए । आफ्नी आमाले बनाएर खुवाएको खानेकुरालाई नै परिस्कृत गर्दै प्रतियोगितामा सहभागी भएका थिए ।
करिब पाँच महिना नेपाल बसाइमा क्रममा आफूले बटुलेका नेपाली खानाको अध्ययनको आधारमा यस पटकको प्रतियोगितामा सहभागी भएको सन्तोषले बताए ।
यसअघि तराईको खाना समेट्न नपाएका उनले यसपटक त्यो धोको पूरा गरे । सन्तोषले लामो समय नेपाल बस्दा आफ्नी आमाबाट सिकेको सीप यो पटक सदुपयोग गरेको बताए ।
निर्णायकहरुले सन्तोषको खानाको तारिफ गर्दै उनलाई जिताएनन् मात्र, एक निर्णायकले त आफूलाई पनि एकपटक नेपाल लैजान अनुरोध गरिन् ।
बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘ ‘मास्टर सेफ प्रोफेशनल यूके प्रतियोगिता २०२०’ मा उनी उपविजेता बनेका थिए ।
यसअघि पनि निर्णायक मण्डलको मन जित्न सफल सन्तोषले यसपटक मन मात्रै जितेनन् आफूलाई विजयी बनाउन समेत सफल भए । ‘नेपाली खानालाई विश्वमाझ चिनाउने लक्ष्यसहित अघि बढेका सन्तोष यसपटक पाएको सफलताबाट थप उत्साहित बनेका छन् ।
‘पुन: प्रतिस्पर्धामा जान चुनौतीपूर्ण थियो, मैले साहस र तयारी गरेर सफलता प्राप्त गरें,’सन्तोषले भने, ‘यो नेपाल र समस्त नेपालीको जित हो । अब नेपाली परिकारलाई अन्तर्राष्ट्रिय स्तरमै चिनाउने मेरो धोकोले थप सार्थकता पाएको छ ।’
बीबीसीबाट प्रसारण हुने हस्पिटालिटी क्षेत्रमा विश्वकै प्रतिष्ठित टिभी रियालिटी शो ‘मास्टर सेफ प्रोफेसनल यूके’ मा नेपाली खाना लिएर उपविजेता बनेका सन्तोषको ख्याति गत वर्षदेखि देश विदेशमा चुलिएको थियो ।
गत वर्ष ३२ चर्चित सेफबाट सुरु भएको उक्त प्रतियोगितामा साह विभिन्न मौलिक नेपाली परिकार विश्वमाझ चिनाउन सफल भए । उनको मौलिक नेपाली खाना पारखीहरुका लागि कुकबुक ‘आयला’ पनि प्रकाशित भएको छ ।
सिराहा जिल्लाको कर्जन्हाबाट दुई दशकअघि १५ वर्षको कलिलो उमेरमै जीविकोपार्जनका लागि भारत हुँदै बेलायत आएका सन्तोषले यहाँ निकै प्रतिष्ठित मानिने भारतीय ‘मिसिलिन स्टार’ प्राप्त कम्पनीहरूमा एक्जुकेटिभ सेफको उच्च पोजिसिनमा काम गरे ।
फ्रेन्च कुजिइनका ‘गडफादर’ मानिने रेमण्ड ब्लांक (ओबिई) र अर्का सेलिब्रेटी सेफ विवेक सिंहसंग पनि उनले काम गरे । भारतीय कुजिनमा करिब दुई दशक बिताएपछि सन्तोषमा नेपाली खाना अन्तर्राष्ट्रिय बजारमा चिनाउने भावना लिएर लगातार अघि बढेका छन् ।





















