काठमाडौं –
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको बताउनु भएको छ। हिजो कपिलवस्तुमा आयोजित सभामा सम्बोधन गर्दै उहाँले ‘एमालेले जहाँ टेक्यो, त्यहीँबाट विकास सुरु हुने’ जिकिर गर्नुभयो।
‘जहाँ एमालेले पाइला टेक्यो, त्यहाँबाट विकास सुरु हुन्छ। जहाँ एमाले पछाडि पर्यो, त्यहाँ विकास हुँदैन,’ उहाँले भन्नुभयो, ‘त्यसकारण म आग्रह गर्न चाहन्छु, तपाईंहरु एमाले प्रवेश गर्नुभएको छ। यसले पार्टीलाई मद्दत पुर्याउँछ।’
उहाँले पार्टी बलियो नभइ विकास गर्न नसकिने बताउनु भयो। ‘विकास आफूले गरेर हुँदैन। सरकारले एउटा एकीकृत योजना ल्याउनुपर्छ। एकीकृत योजना ल्याएर त्यसमार्फत् विकास हुनसक्छ। त्यसका लागि सरकार हुनुपर्यो। त्यो सरकारसँग विकासको नीति हुनुपर्छ,’ उहाँले भन्नुभयो।
हिजो आयोजित त्यस समारोहमा जसपाका केन्द्रिय सदस्य लगायत करिब ६ हजार नेता कार्यकर्ताहरुलाई उहाँले एमालेमा भित्र्याउनु भएको थियो।
उनले सरकार भनेको जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने, अप्ठ्याराहरुमा सजिलो बनाइदिने काम गर्ने भएको बताए। ‘सरकार भनेको नाक कानमा लगाउने गहना होइन,’ उनले भने ।
यो पनि : नेपाली कांग्रेसको १४औं केन्द्रीय कार्यसमितिको पहिलो बैठक बसेको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यलाई प्रमाणपत्र वितरणपछि बसेको पहिलो केन्द्रीय कार्यसमिति बैठकले विभिन्न चारवटा निर्णय गरेको महामन्त्री गगन थापाले जानकारी दिनुभयो ।
बैठकले उत्साह, एकता र रुपान्तरणको नारालाई इतिहासले सुम्पिएको दायित्वलाई अझै सुदृढ बनाएर पार्टीको आगामी यात्रालाई अघि बढाउने निर्णय गरेको छ ।
यस्तै, महाधिवेशनलाई शुभेच्छा प्रकट गर्नेदेखि सम्पन्न गर्न क्रियाशील भएर लाग्ने निर्वाचन समिति, सञ्चारमाध्यम लगायका सम्पूर्ण पक्षलाई धन्यवाद दिने निर्णय बैठकले गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी, राष्ट्रियसभाको निर्वाचनको प्रयोजनको लागि नेपाली कांग्रेसको तर्फबाट खडा गरिने उम्मेदवारहरुको लागि पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षर प्रयोग गर्न कार्यादेश दिने निर्णय गरेको छ ।
र अन्त्यमा राष्ट्रियसभा निर्वाचनका निर्वाचन आयोगमा दल दर्ताको लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई दलको तर्फबाट दलको विवरण बुझाउने र अद्यावधिक गर्ने जिम्मेवारी दिने निर्णय पनि गरेको छ ।
बैठकमा अन्य विषयमा छलफल नभएको र शीर्ष नेताहरूलाई यसअघिकै वरीयतामा राखिएको महामन्त्री थापाले बताउनुभयो ।





















