काठमाडौं –
नेपालमा आउँदाे निर्वाचनबाट विद्युतीय मतदानलाई निरन्तरता दिने उद्देश्यका साथ निर्वाचन आयोगले तयारी थालेको छ ।
निर्वाचन आयोगको आयोजनामा काभ्रेको धुलिखेलमा भइरहेकाे महिला पत्रकारका लागि आयोजित तीन दिने कार्यशालामा आयोगका सचिव गोकर्णमणि दुवाडीले यस्ताे जानकारी दिनुभयो ।
उहाँले सहज र विश्वसनीय परिणामका लागि विद्युतीय मतदानको पहल थालेको बताउनुभएको हो ।
उहाँका अनुसार यसपालि विदेशमा रहेका नेपाली नागरिकको मताधिकारसमेत सुरक्षित गर्ने उद्देश्यका साथ विद्युतीय मतदानका लागि तयारी थालिएको छ । विदेशमा करिब ४० लाख नेपाली नागरिक छन् ।
यस वर्ष भएको जनगणनामा पनि विदेशमा रहेका नेपालीको तथ्याङ्क विद्युतीय प्रविधिमार्फत विदेशमा रहेका कुटनीतिक निकायमार्फत सङ्कलन गरिएको थियो ।
नेपालमा पालिकाको अवधि २०७९ साल जेठ ५ मा सकिँदैछ । विद्युतीय मतदानलाई थप विश्वसनीय बनाउन सरकारले निर्वाचन आयोगलाई आवश्यक
स्रोतको उपलब्धता, दलहरूबीचको साझा सहमति तथा प्रविधिको प्रयोगलाई अग्रता दिन प्रोत्साहन जरुरी रहेको सचिव दुवाडीले बताउनुभयो ।
यो पनि : आगामी वैशाखमा स्थानीय तहको निर्वाचन गर्ने तयारीमा जुट्यो आयोग
सरकारले स्थानीय तहको निर्वाचनको मिति नतोके पनि निर्वाचन आयोग भने तयारीमा जुटेको छ । आगामी वैशाखमा स्थानीय तहका राजनीतिक पदाधिकारीको पदावधि सकिने भएपछि आयोगले वैशाखमा निर्वाचन गर्ने तयारी गरेको हो ।
आयोगका प्रमुख आयुक्त दिनेश थपिलयाले बुधबार धुलिखेलमा आयोजित ‘निर्वाचन सञ्चालन र व्यवस्थापनसम्बन्धी महिला पत्रकारसँग कार्यशाला गोष्ठी’ मा सरकारले मिति नतोके पनि आयोग आफ्नो तयारीमा जुटेको जानकारी दिए ।
उनले स्थानीय सरकार रिक्त रहने परिकल्पना नगरिएको भन्दै स्थानीय तहका पदाधिकारीको कार्यकाल सकिनु अगावै चुनावको तयारी भएको बताए । उनले आयोगले वैशाख २० गते एकै चरणमा ७५३ वटै स्थानीय तहको निर्वाचन गर्ने गरी मिति सिफारिस गर्ने तयारी गरेकोसमेत बताए ।
निर्वाचन आयोगले हाल मतदाता नामावली संकलनको काम गरिरहेको छ ।
तर, हालसम्म सरकारले चुनावको मितिबारे भने कुनै छलफल अगाडि बढाएको छैन । ६ महिना पदावधि थप्न सकिने संवैधानिक व्यवस्था भएकाले आगामी वैशाखमै चुनाव हुनेमा आशंका छ।





















