काठमाडौं –
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले नेपालको खेत बाँझो राखेर भारतलाई पानी दिन नसकिने बताएका छन् ।
कपिलवस्तुमा मंगलबार आयोजित सभामा ओलीले भने, ‘नेपालमा बाँझो जमिन छ, उता भारततर्फ खेती भइरहेको छ । यो कदापि हुँदैन ।’
कपिलवस्तुमा कृषि सिँचाइका लागि नौमुरे योजना छिट्टै सुरु हुने पनि ओलीले बताए । ओलीले एमालेसँग मात्र देश बनाउने नीति भएको दाबी गरे ।
कपिलवस्तुलाई औद्योगिक सहर बनाउने योजना रहेको उनले बताए । आफू प्रधानमन्त्री हुँदा कपिलवस्तुमा धेरै बजेट छुट्याएको र आउने
दिनहरूमा पनि सहयोग रहने बताए। ‘म ७० वर्षको भएँ, १८ घन्टा काम गर्छु । अब तपाईंहरू पनि पार्टीका काममा लाग्नुस्, अवश्य जित हुन्छ ।’ उनले भने ।
यस्तै अध्यक्ष ओलीले एमालेसँग देश बनाउने नीति रहेको र अरुसँग नरहेको बताएका छन्।
‘जहाँ एमालेले पाइला टेक्यो, त्यहाँबाट विकास सुरु हुन्छ। जहाँ एमाले पछाडि पर्यो, त्यहाँ विकास हुँदैन,’ उनले भने, ‘त्यसकारण म आग्रह गर्न चाहन्छु, तपाईंहरु एमाले प्रवेश गर्नुभएको छ। यसले पार्टीलाई मद्दत पुर्याउँछ।’
उनले पार्टी बलियो नभइ विकास गर्न नसकिने बताए। ‘विकास आफूले गरेर हुँदैन।
सरकारले एउटा एकीकृत योजना ल्याउनुपर्छ। एकीकृत योजना ल्याएर त्यसमार्फत् विकास हुनसक्छ। त्यसका लागि सरकार हुनुपर्यो। त्यो सरकारसँग विकासको नीति हुनुपर्छ,’ उनले भने।
उनले सरकार भनेको जनताको समस्या हेर्ने, जनतालाई शान्ति र सुव्यवस्था दिने, जनतालाई समस्या परेका बखत समाधान गर्ने, अप्ठ्याराहरुमा सजिलो बनाइदिने काम गर्ने भएको बताए। ‘सरकार भनेको नाक कानमा लगाउने गहना होइन,’ उनले भने।
कार्यक्रममा जसापका नेता मंगलप्रसाद गुप्ता एमालेमा प्रवेश गरेका थिए।
यो पनि : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गठबन्धनको सरकार लामो समयसम्म रहने बताएका छन् । समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको प्रतिगमन विरुद्धको कार्यक्रमलाई सम्बोधन गर्दै नेता नेपालले यस्तो बताएका हुन् ।
उनले भने,‘स्थानीय तहको चुनावसम्म नै गठबन्धन नटुट्ने गरि छलफल अघि बढिरहेको छ । गठबन्धनको सरकार लामो समयसम्म रहन्छ ।’ उनले ओलीको नारा वामपन्थ होइन रामपन्थ भएको भन्दै संसदीय परम्पार मिचेको आरोप लगाए।
उनले भने, ‘केपी ओलीको भूमिका प्रतिगमनकारी हो । उनले संसदीय परम्परा मिचे । केपी ओलीको नारा वामपन्थ होइन रामपन्थ हो । उनी यथास्थितिवादी हुन् । उनी समाजवाद मन पराउँदैनन् । पाँचैवटा पार्टी अग्रगमनकारी हुन् ।
उनले ओलीलाई गफाडीको संज्ञा समेत दिए। उनले भने,’ गफाडी नम्बर एक केपी ओली भनेर गिनिज बुकमा नाम लेखिदिए हुन्छ।’
तस्बिर : फाईल फोटो





















