काठमाडौं –
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका छन् ।
आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञसभाको ३६ औँ बेठकको समुद्घाटन समारोहमा मन्त्री आलेले आन्तरिक र बाह्य विमानस्थलमा सटल बस सेवा सञ्चालन गर्ने बताएका हुन् ।
उनले यात्रुहरुले विमानको भन्दा धेरै ट्याक्सी भाडा भएको गुनासो गरेपछि अब विमानस्थलमा ४ वटा सटल बस निःशुल्क सञ्चालन गरिने बताए ।
मन्त्री आलेले मजदुरहरुको लागि विमास्थलमा विश्राम घरको निर्माण गर्न निर्देशन दिएको पनि बताए । उनले भारतीय समकक्षीसँगको भेटमा नेपाललाई भारत लगायत मध्यपूर्व र पश्चिमी मुलुकहरुसँग जोड्ने पश्चिमतर्फको हवाइ रुट लिमा–६२६ लाई दुईतर्फी बनाउन पनि आग्रह गरेको बताए ।
पर्यटनमन्त्री आलेले भारतीय सिभिल एभिएसन मन्त्री ज्योतिरादित्य एम सिन्धियासँग भारतमा नेपाल एयरलाईन्सको दुई वटा विमान उडान भर्ने व्यवस्था मिलाउन पनि आग्रह गरिएको बताए ।
यस्तै पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा सत्तारुढ दल निकटका विद्यार्थी संगठनले प्रदर्शन गरेका छन् ।
आइतबार काठमाडौं भृकुटी मण्डपको रत्न राज्य क्याम्पस बाहिर नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायतका पार्टी निकट विद्यार्थी संगठनले प्रदर्शन गरेका हुन् ।
संयुक्त विद्यार्थी आन्दोलनले सिलिण्डर ग्यास सहित प्रदर्शन गरेको थियो । उनीहरुले पेट्रोलियम पदार्थमा मुल्यवृद्धि फिर्ता लिनुपर्ने, आयल निगका कार्यकारी निर्देशक सुरेन्द्र पौडेललाई बर्खास्त गर्नुपर्ने लगायतका माग राखेका छन् ।
नेपाल आयल निगमले हालै खाना पकाउने ग्यास, पेट्रोल र डिजेलमा मूल्यवृद्धि गरेपछि विद्यार्थीहरुले आन्दोलन गरेका छन् ।
यो पनि : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले विद्युतीय सामानको प्रयोग बढाउनुपर्नेमा जोड दिएकी छन् । उनले विद्युत् महसुल समायोजन भएपछि विद्युत् शुल्क कम पर्ने भएकाले विद्युतीय सामान, सवारी साधनको प्रयोग गर्न सुझाव दिएकी हुन् ।
आइतबार सामुदायिक रेडियो प्रसारक नेपाल संघ (अकोराव) ले आयोजना गरेको ‘विपद् र सामुदायिक रेडियो अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री भुसालले सबै नेपाली जनताहरुलाई सवारी साधन, घरायसी प्रयोगका सामान किन्दा विद्युतीय सामानहरु किन्न आग्रह गरेकी छन् ।
उनले आगामी मंसिर १ गतेदेखि विधुत् महसुल समायोजन प्रक्रिया लागू हुने भएकाले सक्दो विद्युतको खपत बढाउनु पर्नेमा जोड दिएकी छन् ।
उनले विद्युत्को दर नै महँगो भएकाले पहिलो कदम नै महसुल समायोजन भएको बताइन् । उनले भनिन्, ‘ ‘हाम्रोमा विद्युत्को दर महँगो छ ।
सामान्य अर्थशास्त्रअनुसार जति धेरै उत्पादन हुन्छ, लागत मूल्य कम हुन्छ । उपभोक्ताका रूपमा मेलै गरेको अनुभव जति खपत बढी भयो दर कम हुनुपर्ने हो तर यहाँ त्यस्तो छैन,’ उनले भनिन्, ‘विद्युत्को दरमा पुनर्विचार गरेर विद्युत् महसुल समायोजन गर्न लागिएको हो ।’
उनले निजी क्षेत्रबाट हुने विद्युत उत्पादनको मात्रा बढाउन पहल गर्ने र बढी भन्दा बढी नेपाल विद्युत प्राधिकरणले खरिद गरि जनस्तरसम्म पुर्याउने योजना रहेको बताइन् । उनले जनतालाई गरीबीबाट उन्मुक्ति दिलाउनु नै पहिलो आफ्नो सपना भएको बताइन् ।





















