नवलपरासी –
चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालित होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ ।
नेपाल विद्युत् प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनमार्फत उद्योगलाई विद्युत आपूर्ति दिएको छ । प्रसारण लाइन तथा सबस्टेसन शनिबार राति ९ बजे चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको हो ।
नेपाल विद्युत प्राधिकरणका सञ्चालक भक्तबहादुर पुन, कार्यकारी निर्देशक कुलमान घिसिङ, वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक
मनोज सिलवाल, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठसहितको टोलीको उपस्थितिमा प्रसारण लाइन चार्ज गरी उद्योगलाई विद्युत आपूर्ति दिएको हो ।
होङ्शीले ३० मेगावाट विद्युत खपत गर्ने छ । उत्पादन क्षमता थप गर्न लागेको उद्योगलाई थप ५० मेगावाट विद्युत चाहिने छ । उद्योगलाई १३२ केभी प्रसारण लाइनमार्फत सिधै विद्युत दिइएको छ ।
यसका लागि उद्योगले आफ्नो परिसरमा ३१.५ एमभीए क्षमताको ट्रान्सफर्मर जडान गरी विद्युत आपूर्ति लिएको छ । ११ र ३३ केभी प्रसारण मेगावाट लाइनबाट विद्युत आपूर्ति लिने ग्राहककोभन्दा १३२ केभीको महशुल सस्तो छ ।
विद्युत लाइन पुग्न नसक्दा उद्योगले १.४ मेगावाटका १४ वटा डिजेल जेनेरेटरमार्फत विद्युत आपूर्ति गरिरहेको थियो । यसका लागि दैनिक रुपमा ६० हजार लिटर डिजेल खपत हुँदै आएको उद्योगले जनाएको छ ।
कार्यकारी निर्देशक घिसिङले वन क्षेत्रको जग्गा प्रयोग, स्थानीयको अवरोधजस्ता धेरै समस्या कारण प्रसारण लाइनको निर्माण अझै नसकिएता पनि वैकल्पिक व्यवस्था गरी होङ्शीलाई विद्युत दिन सकिएको बताए ।
होङ्शी सिमेन्ट उद्योगका लागि निर्माण भइरहेको बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइन आयोजनाको निर्माणमा केही ढिला हुने भएपछि वैकल्पिक व्यवस्था गरी उद्योगलाई विद्युत आपूर्ति दिइएको छ ।
नवलपरासीको विनयी त्रिवेणी गाउापालिका–२ दुम्कीबासमा बर्दघाट–भरतपुर २२० केभी प्रसारणलाई ‘ट्यापिङ’ गरी होङ्शी सिमेन्टलाई विद्युत आपूर्ति दिइएको हो ।
२२० केभी प्रसारण लाइनबाट आएको विद्युतलाई ट्यापिङ गरी बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको दुम्कीबास–सर्दीखण्डमार्फत उद्योगमा विद्युत आपूर्ति दिइएको छ ।
बर्दबाट–भरतपुर २२० केभी र बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनको निर्माण सम्पन्न भएको खण्डलाई चार्ज गरी उद्योगलाई विद्युत दिइएको हो ।
‘मुलुकभित्र उत्पादित विद्युतको आन्तरिक खपत बढाउन ठूला उद्योगहरुले मागेजति विद्युत दिइरहेका छौं, गुणस्तरीय, भरपर्दो र पर्याप्त विद्युत आपूर्तिका लागि प्रसारण तथा वितरण लाइन र सबस्टेसनहरुको क्षमता बढाउने, सदृढीकरण गर्ने
लगायतका काम अभियानकै रुपमा चलाइएको छ, यसको नतिजा छिट्टै देखिने छ’, घिसिङले भने, ‘ठूला उद्योग स्थापनालाई प्रोत्साहन गर्न विद्युत महशुललाई समयानुकूल पुनरावलोकन गर्दै लैजाने छौं ।’
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको सिमेन्ट उद्योगसँग विद्युत् पुऱ्याउने घोषणा अनुसार बर्दघाट–सर्दी १३२ केभी २० किलोमिटर डबल सर्किट प्रसारण लाइन बनिरहेको हो ।
वन क्षेत्रको जग्गा प्रयोग तथा रुख कटान स्वीकृतिमा भएको ढिलाइ र निजी जग्गा प्राप्तिको समस्याका कारण केभी प्रसारण लाइनको निर्माण पूर्ण रुपमा सम्पन्न हुन सकेको छैन ।
नेपाल सरकारको लगानीमा ४० लाख अमेरिकी डलर लगानीमा आर्थिक वर्ष २०७३/७४मा आयोजनाको सुरु गरिएको थियो ।





















