शासनलाई मजाक बनाउँदै मनाङे : मनाङेले कस्लाई बनाए कार्यवाहक मन्त्री

पोखरा – गण्डकी प्रदेशको युवा तथा खेलकुद मन्त्रालय सम्हालेको १०० दिन पूरा भएको अवसरमा मन्त्री राजीव गुरुङ (दीपक मनाङे) ले मनाङका युवाको किस्सा सुनाए ।

भएछ के भने, जिल्लामा बहुउद्देश्यीय कभर्डहल बनाउन बजेट छुट्याइदिन माग गर्दै मनाङका युवाहरू मन्त्री भेट्न पोखरा आएछन् ।

मन्त्रीले उल्टै हप्काएछन्, ‘मनाङजस्तो ठाउँमा केको खेलकुद  ? तिमीहरूले जानेको भनेकै तास खेल्न हो । तास खेल्नलाई कभर्डहल चाहिँदैन । २० बाई २० (फिट) को कोठा बनाए हुन्छ ।’

त्यतिन्जेलसम्म अरू मन्त्रीले सम्पत्ति विवरण बुझाइसक्दा उनले बुझाएका थिएनन् । सम्पत्ति विवरणबारे प्रश्न गर्दा उनले भनेका थिए, ‘मसँग कति सम्पत्ति छ मलाई नै थाहा छैन ।

धेरै पैसा सापटी दिएको छु, जुन मसँग आएको छैन । आउनेवाला छ भनेर कसरी लेख्ने ?’ उनका यस्तै अभिव्यक्तिले कतिपयले उनलाई ‘स्पष्टवक्ता’ भन्दै आएका छन् भने धेरैले ‘कमजोर’ ।

‘गुन्डा नाइके’ बाट प्रदेश सांसद हुँदै मन्त्री बन्दासम्म गरेका गतिविधिले उनी वि’वा’दमु’क्त हुन सकेनन् । सांसदका रूपमा हाजिर भएको केही समयमै कास्की जिल्ला फुटबल संघका अध्यक्षलाई झापड हानेपछि उनलाई प्रहरीले पक्रेर हिरासतमा राखेको थियो ।

पटकपटक उनले दिएका अभिव्यक्ति पनि वि’वा’दमु’क्त हुन सकेनन्  । मन्त्रीका रूपमा गरेका पछिल्ला गतिविधिबाट उनले मन्त्री पदलाई नै मजाक बनाएको टिप्पणी हुन थालेको छ ।

सहयोगीलाई कार्यवाहक मन्त्री

मन्त्री गुरुङ तिहारअघि मनाङ गए । यता उनका सहयोगी रोनित गुरुङ मन्त्रीको कार्यकक्षमा छुट्टै टेबल राखेर विराजमान भए । टेबलमा नेमप्लेट राखियो, ‘रोनित गुरुङ, कार्यवाहक एवं प्रवक्ता’ । मन्त्रीको कार्यकक्ष पुग्ने जोकोही पनि उक्त दृश्य देखेर अचम्मित हुन्थे ।

कानुनमा कहीं, कतै उल्लेख नभएको मन्त्रीको कार्यवाहकको पदमा सहयोगी विराजमान भएको देखेपछि मन्त्रालयका कर्मचारीसमेत अचम्ममा परे ।

गण्डकी प्रदेशमा मन्त्रीहरूको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐनअनुसार मन्त्रीले पाउने भनेको एक जना शाखा अधिकृत, एक नायब सुब्बा सरहको स्वकीय सचिव र एक कार्यालय सहयोगी मात्रै हो ।

रोनितले भने मन्त्री गुरुङले हिँड्ने बेलामा मन्त्रालयको काम सम्हाल्न र मन्त्रीका तर्फबाट बोल्न कार्यवाहक र प्रवक्ताको जिम्मेवारी दिएको बताउने गरेका छन् । त्यसबापत कुनै सरकारी सुविधा वा पारिश्रमिक नलिएको उनले बताए ।

त्यसो त मन्त्री गुरुङ सांसद भएदेखि नै रोनित उनीसँगै छन् । अहिले पनि उनले स्वकीय सचिवका रूपमा सघाउँदै आएका छन् । अधिकृतस्तरको प्रमुख स्वकीय सचिवका रूपमा युनिका गुरुङ र नायब सुब्बासरहको स्वकीय सचिवका रूपमा दिक्छेन डोल्मा लामाले पारिश्रमिक र सुविधा बुझ्छन् ।

बिहीबार मन्त्री गुरुङ फर्किएर मन्त्रालय सम्हालिसकेका छन् । मन्त्रालयका एक कर्मचारीका अनुसार सहयोगी रोनितले कार्यवाहकको नेमप्लेट राखे पनि मन्त्रीको अनुपस्थितिमा कुनै फाइल सदरबदर गरेनन् ।

‘कार्यकक्ष कुरेर बस्न चाहेको जस्तो देखियो,’ उनले भने, ‘मन्त्रीलाई भेट्न आउनेजानेसँग सम्पर्कमा रहने काम गर्नुभयो ।’ मन्त्रालयका सचिव विनोदबहादुर कुँवरले नेमप्लेटबारे थाहा पाएपछि हटाउन लगाएको बताए । ‘मन्त्रीज्यूले लिखित रूपमा कुनै कार्यवाहक दिनुभएको होइन, दिन मिल्ने कुरा पनि होइन,’ उनले भने, ‘उहाँलाई पनि यसबारे ज्ञान नहुन सक्छ ।’

गन्जीमै मन्त्रालय

मन्त्री गुरुङ प्रायःजसो औपचारिक पोसाकमा मन्त्रालय पुग्दैनन् । उनी धेरैजसो ट्र्याक सुट लगायत ‘स्पोर्ट्स वेयर’ मा मन्त्रालय जान्छन् । कहिलेकाहीं गन्जीमै पुग्ने गरेको एक कर्मचारीले बताए ।

‘यसो गर्नु हुँदैन भनेर उहाँलाई भन्ने मान्छे कोही छैन,’ ती कर्मचारीले भने, ‘मुख्यमन्त्रीज्यूले सम्झाउनुपर्ने हो ।’ फाट्टफुट्टबाहेक औपचारिक कार्यक्रममा समेत उनी ट्र्याकसुटमा पुग्ने गर्छन् ।

लवाइ खवाइ भन्दा काम गरेर देखाउनुपर्ने बारम्बार दोहोर्‍याउँछन् । दौरासुरुवाल लगाउनेले देश बिगारेको प्रतिक्रिया दिन्छन् । मन्त्रालयका कर्मचारी भने गन्जीमै मन्त्रालय आउनु नमिल्दो हुने बताउँछन् । कान्तिपुरबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...