काठमाण्डौ – यस अघि ओलि नेतृत्वको सरकारमा पहिलोपटक बनमन्त्री हुदा हासो ठट्टामा उडाइएका वर्तमान पर्यटनमन्त्री प्रेम आलेले कमाल गर्न थालेका छन् ।
उनले पर्यटन मन्त्रालयको जिम्मेवारी सम्हालेपछि प्रशंसायोग्य कामहरु गर्न थालेका हुन् । यसैबीच, त्रिभुवन विमानस्थलको गोल्डेन गेटबाट आन्तरिक टर्मिनल भवनको अगाडिसम्म अब निःशुल्क सवारी साधनको व्यवस्था भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका दुई वटा माइक्रोबसलाई सो प्रयोजनका लागि उपयोगमा ल्याइएको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आलेले सोमबार विमानस्थल मै पुगेर उक्त सेवाको प्रारम्भ गरेका हुन् ।
मन्त्री आलेको सचिवालय स्रोतका अनुसार अहिले दुई वटा बसबाट सेवा शुरु गरिएको हो । थप दुई वटा बसको व्यवस्था गर्न समेत प्राधिकरणलाई मन्त्री आलेले निर्देशन दिएका छन् ।
यसअघि आन्तरिक उडानबाट आएका यात्रुलाई ट्याक्सीले अत्यधिक मूल्य लिएको भन्दै गुनासो आएको थियो । अब यस्तो सवारी शुरु भएसँगै गोल्डेन गेटबाट पैदल यात्रा गरि टर्मिनल पुग्नुपर्ने यात्रुले सवारी साधन प्रयोग गर्न सक्नेछन् ।
साथै विमानस्थलबाट बाहिर निस्किएपछि समेत यात्रुले यी बसबाट निःशुल्क गोल्डेन गेटसम्म झरेर यहाँबाट सार्वजनिक यातायात चढेर गन्तब्यसम्म जान सक्नेछन् ।
प्लेनको टिकटभन्दा एयरपोर्टका ट्याक्सी भाडा महंगो भएको गुनासो आएपछि यस्तो व्यवस्था गरिएको सचिवालयको भनाइ छ । मन्त्री आलेले आजै गोल्डेन गेट र आन्तरिक टर्मिनल भवन अगाडि यात्रुको सुविधाका लागि संरचना बनाउन समेत भनेका छन् ।
यात्रुले आफ्नो ब्याग बिसाएर गाडी कुर्न उपयुक्त हुने खालको संरचना बनाउन मन्त्री आलेले प्राधिकरणलाई निर्देशन दिएका हुन् । संरचना निर्माणको काम मंगलबार बाटै शुरु हुने बताइएको छ ।
यस्तै यता नेपाली उडान क्षेत्रमा नयाँ आयाम थपिने भएको छ । एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल रहेको नेपालमा भैरहवाबाट समेत अन्तर्राष्ट्रिय उडान हुनेगरि अर्को विमानस्थल संचालनमा आउने भएको हो ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको यान्त्रिक परीक्षण उडान (क्यालिब्रेशन फ्लाइट) गर्न थाइल्यान्डको एरो थाईले अनुमति पाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पूर्व सम्झौताअनुसार एरो थाईलाई क्यालिब्रेशन फ्लाइट गर्न अनुमति दिएको हो ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको भैरहवा (रुपन्देही) मा निर्माण गरिएको गौतमबुद्ध विमानस्थल क्यालिब्रेशन फ्लाइटका लागि तयारी अवस्थामा छ ।
क्यालिब्रेशन फ्लाइट भनेको विमानस्थलमा विमान उडान र अवतरणका साथै अन्य कार्य निर्देशित गर्न धावनमार्ग, टावरलगायतका क्षेत्रमा जडान भएका उपकरणले काम गरेका छन् या छैनन् भनेर परीक्षण गर्ने प्रक्रिया हो । यसका लागि जहाज नै ल्याएर उडान अवतरण गर्नुपर्छ ।
एरो थाईले क्यालिब्रेशन फ्लाइट गर्ने अनुमति पाएसँगै परीक्षण उडानको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको प्राधिकरणका महानिर्देशक राजकुमार क्षेत्रीले जानकारी दिए । उनका अनुसार अबको एक महिनाभित्रै परीक्षण उडान हुनेछ ।
त्यसबीचमा प्राधिकरणले आन्तरिक तयारी गर्नेछ । एरो थाई थाइल्यान्डको प्रतिष्ठित हवाई कम्पनी हो । थाई एअरवेजका लागि एटीसीलगायत प्राविधिक जनशक्ति एरो थाईले उपलब्ध गराउने गरेको बताइन्छ ।
आउँदो नोभेम्बर २२ तारिखमा एरो थाईले प्राविधिक जनशिक्तसहित नेपालमा जहाज ल्याएर प्रक्रिया पूरा गरी क्यालिब्रेशन फ्लाइट गर्ने प्राधिकरणले जनाएको छ । यो काम एक हप्ता अवधिको हुनेछ ।
कोभिड–१९ महामारीका कारण अघिल्लो वर्ष नै उद्घाटन गर्ने भनिएको यो आयोजना केही ढिला भएको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनअनुसार प्राधिकरणले क्यालिब्रेशन फ्लाइटको टुङ्गो लगाएको हो ।
महानिर्देशक क्षेत्रीले भूकम्प, नाकाबन्दी तथा ठेकेदारले बेलैमा पैसाको जोहो र निर्माण सामग्री गर्न नसक्नुले पनि आयोजना सम्पन्नमा ढिलाइ भएको छ । पालिकासँगको समन्वय गर्न नसक्नु तथा पछिल्लो को’भि’ड–१९ महा’मा’रीका कारण आयोजना प्रभावित बनेको थियो ।
परीक्षण उडान गरेपछि अन्तर्राष्ट्रिय वायु सेवालाई नियमित उडानका लागि आह्वान गरिने छ । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने जनाइएको छ । विमानस्थलको प्राविधिक स्थितिको काम लगभग सकिसकेकाले अबको पाँच महिनामा अन्तर्राष्ट्रिय उडान हुने पक्का भएको हो ।
सन् २०१७ डिसेम्बरभित्र निर्माण सक्ने गरी सन् २०१५ को सुरुमा थालनी भएको विमानस्थलको काम बीचमा ठेकेदार कम्पनीको ला’प’र्बा’हीले अव’रो’ध भएको थियो । पछि थपिएको दुई वर्षको अवधिमा आयोजनाको काम उल्लेख्य रूपमा प्रगति भयो ।
पछिल्लो पटक सन् २०२० को मार्च महिनासम्मका लागि विमानस्थलको निर्माण अवधि थपिएको थियो । प्राविधिक कारण ढिलाइ भएको यो आयोजनालाई कोरोनाको सन्त्रासले थप विलम्ब बनाएको हो ।
विमानस्थल चिनियाँ निर्माण कम्पनी नर्थवेस्ट सिभिल एभिएशन कन्स्ट्रक्शन ग्रुपले निर्माण गरेको हो । एसियाली विकास बैंकको सहुलियतपूर्ण ऋणमा निर्माण भएको यो आयोजनाका लागि दुवै चरणमा गरी सात अर्ब ३२ करोड रुपैयाँ हाराहारी खर्च हुने प्राधिकरणले जनाएको छ ।
कुल ४५ मिटर चौडाइ र तीन हजार मिटर लामो धावनमार्गको यो विमानस्थललाई व्यावसायिक सञ्चालनमा आउँदा अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप न्यूनीकरण हुने विश्वास लिइएको छ ।
प्राधिकरणका अनुसार अहिले ८० प्रतिशत भौतिक प्रगति सकिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि अबको ६ महिनामा परीक्षण उडान हुने गरी तयारी भइरहेको छ ।
आन्तरिक विमानस्थलको सुदृढीकरण गर्दै आवश्यकताका आधारमा विमानस्थल सञ्चालन गर्न तथा धनगढी लगायत विमानस्थलको स्तरोन्नतिको काम पनि सुरु भइसकेको प्राधिकरणले जनाएको छ ।





















