काभ्रे – काभ्रेको पनौती नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजारको बजेट पारित गरेको छ ।
नगरपालिकाको सत्रौं नगर सभामा नगर प्रमुख रामशरण भण्डारीले प्रस्तुत गरेको बार्षिक नीति तथा कार्यक्रम र उपप्रमुख गिता वञ्जाराले प्रस्तुत गरेको आर्थिक बर्ष २०८२/८३ को आय/व्ययसहितको बजेट तथा कार्यक्रम पारित भएको छ ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगर प्रमुख भण्डारीले दिगो, भरपर्दो, तथा वातावरणमैत्री पूर्वाधारमा जोड दिने बताएका छन् । नगरपालिका भित्र पालिका गौरवको आयोजना तथा वडाभित्र कम्तीमा एक वडा एक गौरवको आयोजनाका लागि क्रमागत रुपमा बजेट विनियोजन गरिएको छ ।
गत वर्षको बाढीबाट क्षती भएका संरचना निर्माणलाई प्राथमिकतामा राखेको र कृषि व्यवसाय, पशुपालन लगायत धार्मिक र सांस्कृतिक क्षेत्रलाई विशेष महत्व दिएको नीति तथा कार्यक्रममा उल्लेख छ । पनौतीको सिरानचौरमा निर्माणाधिन रङ्गशालालाई समेत विशेष महत्वका साथ बजेट छुट्याएको नगरपालिकाले आगामी आर्थिक वर्षका लागि १ अर्ब ६१ करोड ११ लाख ११ हजार रुपैयााको बजेट ल्याएको छ ।
काभ्रे जिल्लाका १३ वटा पालिका मध्य सबैभन्दा ठूलो आकारको बजेट ल्याएको पनौतीले प्रति वडा १ करोड ३० लाखका दरले रकम विनियोजन गरेको छ ।