सामाजिक सञ्जालमा ‘फेक आईडी’ बनाए १५ लाख रुपैयाँ जरिवाना सहित ५ वर्षसम्म कैद हुने !

काठमाडौं – सरकारले सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्नेसम्बन्धी विधेयक संसद्मा दर्ता गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले विधेयक दर्ता गरेको हो ।

विधेयकमा सामाजिक सञ्जालको दर्तादेखि नियमन र कानून उल्लङ्घन गर्नेलाई सजायसम्मको व्यवस्था छ । सामाजिक सञ्जालमा नक्कली आईडी बनाउन र त्यसबाट पोस्ट, शेयर, कमेन्ट वा कल गर्न नपाइने गरी कानून बन्न लागेको हो ।

विधेयकको व्यवस्था अनुसार फेक आईडी, समूह वा पेजबाट नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डतामा खलल पुग्ने वा राष्ट्रिय हित प्रतिकूल गलत र भ्रामक सूचना सम्प्रेषण गर्नेलाई ५ वर्ष कैद सजाय र १५ लाख रुपैयाँ जरिवाना हुने छ । साइबर बुलिङ गर्नेलाई २ वर्ष कैद र ३ लाख जरिवाना तथा साइबर स्टकिङ गर्नेलाई ३ वर्ष कैद र ५ लाख जरिवाना हुने भएको छ ।

विधेयकमा अरूको आइडी ह्याक गर्नेलाई ३ वर्ष कैद र १५ लाख रुपैयाँ जरिवाना हुने उल्लेख छ । सार्वजनिक पद धारण गरेको वा राज्य कोषबाट सुविधा लिएको कुनै व्यक्तिले यो ऐन बमोजिम कसूर हुने काम गरेमा ५० प्रतिशतसम्म थप सजाय हुने व्यवस्था पनि विधेयकमा छ ।

यस्तै बालबालिकाको प्रयोग गरी कसूर हुने कार्य गरेमा १ वर्षसम्म थप कैद सजाय हुने व्यवस्था छ । वेबसाइट, एप, सामाजिक सञ्जाल, ब्लग, एआई टूल्स सञ्चालन गर्न चाहनेले अनुमति लिनुपर्नेछ । फेसबुक, भाइबर, ह्वाट्सएप, एक्सलगायत देशबाहिरबाट सञ्चालित सामाजिक सञ्जालले अनुमतिसहित नेपालमा सम्पर्क विन्दु राख्नुपर्नेछ । अहिले नेपालमा  गुगल, मेटालगायतका १९ वटा सामाजिक सञ्जाल दर्ता भएर करसमेत तिर्न थालिसकेका छन् ।

सामाजिक सञ्जालका प्लेटफर्म सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाई सामाजिक सञ्जालको सञ्चालन र प्रयोगलाई मर्यादित, सुरक्षित र व्यवस्थित गर्न, नियमन गर्न आवश्यक देखिएकोले विधेयक संसद्मा पेस भएको प्रस्तावनामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...