काठमाडौं – सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा निवर्तमान उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहित २६ जनासँग बयान लिने भएको छ ।
मङ्गलबार समितिको कार्य प्रगति सुनाउँदै समिति सभापति सूर्य थापाले २६ जनासँग सोधपुछ गर्ने निर्णय भएको सम्बद्ध स्रोतले जानकारी दियो ।
सूचीमा रहेका २६ जनामध्ये केही विदेश छन् भने केही जेलमा छन् । थापाले उनीहरू सबैको नाम सार्वजनिक गर्न चाहेनन् । तथ्यमा केन्द्रित रहेर सोधपुछ गरिने भन्दै थापाले तर मुख्य मानिस बाहिर हुँदा सत्य तथ्य पहिचानमा केही चुनौती हुने बताए ।
सहकारी ठगी प्रकरणमा तत्कालीन गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरेपछि उक्त समिति गठन भएको थियो ।
समितिले यसअघि बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन), राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो ।