काठमाडौं – पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २०८४ को निर्वाचन एक्लै लड्ने र जित्ने उद्देश्यका साथ पार्टीमा छलफल भइरहेको बताएका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष प्रचण्डले पदाधिकारी बैठकमा ०८४ को चुनाव एक्लै जित्ने योजनाबारे छलफल भइरहेको बताएका हुन् ।
उनले भने, ‘यस्तो महत्वपूर्ण समयमा तपाईंहरू पार्टीमा आउनुभएको छ । यसले फेरि माओवादीलाई शक्तिशाली बनाएर देशमा सुशासन कायम गर्न महत्वपूर्ण सन्देश दिनेछ ।’ १८ महिना सरकारको नेतृत्त्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा काम गरेको उनले दाबी गरे ।
सरकार छाड्दा आफूहरु विजेता जस्तो र सरकारमा जानेहरु हारेकाहरु जस्तो देखिएको भन्दै उनले भने, ‘भ्रष्टहरू मिलेर सरकार बनाएको जनतालाई पनि बुझाउन जरूरी छ ।’
उनले १८ महिना सरकारको नेतृत्वमा रहँदा सुशासन, सामाजिक न्यायका पक्षमा अहोरात्र काम गरेको बताए ।
पार्टी प्रवेश गर्दै युवा नेता जगदीश दाहालले प्रचण्ड सरकार इतिहासकै सबैभन्दा सफल भएको र प्रचण्ड सुशासनका नायक भएकाले माओवादी केन्द्रमा प्रवेश गरेको बताए ।