काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आइतबार प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् ।
प्रचण्ड नेतृत्वको सरकार ढलेसँगै राष्ट्रपतिले शुक्रबार साँझ नयाँ सरकार गठनका लागि आइतबार बेलुका ५ बजेसम्मको समय दिएर आह्वान गरेका थिए । सो आह्वानलगत्तै ओलीले राष्ट्रपति भवन शीतल निवासमा १६६ सांसदको समर्थनमा शुक्रबार राति नै प्रधानमन्त्रीमा दाबी पेस गरेका थिए ।
ओलीको शपथ सोमबार बिहान ११ बजे हुने भएको छ । राष्ट्रपति कार्यालयकी सहसचिव शैलजा रेग्मीका अनुसार, सोमबार बिहान ११ बजे शीतलनिवासमा शपथग्रहण कार्यक्रमको आयोजना गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधि सभाबाट विश्वासको मत लिन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुभएको हो ।
एमाले र कांग्रेसले एकै पटक दुई पार्टीबाट सरकारमा जाने मन्त्रीहरुको नाम समावेश गरेर मन्त्रिमण्डल गठनको तयारी गरेका छन् । एमालेले सरकारको नेतृत्व गरेपछि कांग्रेसले ९ र एमालेले ८ मन्त्रालय पाउने सहमति भएको छ ।
यसैबीच नेपाली कांग्रेसको शेखर कोइराला र गगन थापा समूहले कम्तीमा चार जना मन्त्री माग गरेको छ । कोइरालाको निवास विशालनगरमा बसेको बैठकले नयाँ सरकारमा कांग्रेसले जति जना मन्त्री पाए पनि चार जना आफ्नो समूहका हुनुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकले समूहबाट पठाउने मन्त्रीको चयन गर्ने अधिकार शेखर कोइराला, गगन थापा र धनराज गुरुङलाई दिएको बैठकमा सहभागी नेता अर्जुननरसिंह केसीले जानकारी दिनुभयो ।