काठमाडौं – प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाबाट ६ जना नक्कली परीक्षार्थी पक्राउ परेका छन् ।
काठमाडौंको विभिन्न स्थानमा भएको प्रहरी जवानको लिखित परीक्षामा अरूकै नाममा परीक्षा दिन आउने ६ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए ।
प्रहरी वृत्त गौशालाले २ पुरुष, प्रहरी वृत्त बानेश्वरले ३ पुरुष र प्रहरी वृत्त सिंहदरबारले एक जना महिलालाई पक्राउ गरेको हो ।
रित शाहीको ठाउँमा परीक्षा दिन आएका कालिकोट घर भई ललितपुरको धापाखेल बस्ने २२ वर्षीय अभिषेक शाही पक्राउ परेका हुन् ।
हिक्मतबहादुर थापाको ठाउँमा कञ्चनपुर पुनर्वास नगरपालिका वडा नम्बर १ का २४ वर्षीय इशाक तामाङ परीक्षा दिन आएका थिए। उनी पनि पक्राउ परेका छन् । त्यस्तै शर्मिला शाहीको सट्टामा परीक्षा दिने दोलखा घर भई स्वयम्भू बस्ने तृप्ती सुन्दास पक्राउ परेकी छन् ।
कञ्चनपुर पुनर्वास १, घर भई हाल मित्रनगर बस्ने २२ वर्षीय पारस बुढालाई प्रहरीले पक्राउ गरेको छ। उनी रोशन खत्रीको नाममा परीक्षा दिन आएका थिए ।
दार्चुला घर भई हाल कीर्तिपुर बस्ने २० वर्षीय रविन्द्र महरा सविन महराको नाममा परीक्षा दिन आउँदा पक्राउ परेका हुन् ।
बैतडी घर भई मित्रनगर बस्ने २१ वर्षीय दिनेश चन्द प्रदीप बस्यालको नाममा परीक्षा दिन आउँदा पक्राउ परेको एसपी अधिकारीले जानकारी दिए ।