विद्युत प्राधिकरणले काट्यो जगदम्बा स्टिलको उद्योगको बिजुली, यस्तो छ कारण !

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले जगदम्बा स्टिलको उद्योगमा बिजुलीको लाइन काटिदिएको छ ।

डेडिकेटेड लाइनको बक्यौता रकम र जरिबाना नतिरेको भन्दै प्राधिकरणले बाराको सिमरामा रहेको उद्योगमा गएराति ९ बजे लाइन काटिदिएको हो ।

जगदम्बाले डेडिकेटेड लाइनको २५ प्रतिशत जरिबानासहित एक अर्ब ६० करोड रुपैयाँ नबुझाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

यससँगै विद्युत् प्राधिकरणले पछिल्लो पटक लाइन काटिदिएका उद्योगहरूको सङ्ख्या ६ वटा पुगेको छ । यसअघि प्राधिकरणले रिलायन्स स्पिनिङ मिल, अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्टलगायतका उद्योगका लाइन काटेको थियो ।

२०७२ साल माघ महिनादेखि २०७५ साल वैशाखसम्म लोडशेडिङ कायम रहेको अवधिको प्रिमियम महसुल नतिरेका उद्योगहरूको लाइन काटिएको प्राधिकरणले जनाएको छ । लोडशेडिङको समयमा उद्योगहरूले लोडशेडिङ नहुने गरी प्रिमियम शुल्क लाग्ने डेटिकेटेड तथा ट्रङ्क लाइनमार्फत बिजुली उपभोग गर्न पाएका थिए ।

उद्योगहरूले नियमित महसुल तिरे पनि प्रिमियम शुल्क नतिरेपछि विद्युत् प्राधिकरणले बक्यौता तिर्न भन्दै १५ दिन म्याद रहेको पत्राचार गरेको थियो । महसुल विवाद बढेपछि सरकारले आयोग नै गठन गरेकाे थियाे ।

आयोगले लोडशेडिङ रहेको समय अवधि यकिन गर्दै त्यसबीचको मात्रै प्रिमियम महसुल लिन सुझाव दिएपछि सरकारले त्यहीअनुसार निर्णय गरेको थियो । तर प्राधिकरणले थप २५ प्रतिशत जरिबाना पनि तिर्न पत्र पठाएपछि भुक्तानी नगरेको उद्योगीहरूले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...