मधेशमा २० वर्ष नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दा बढी !

महाेत्तरी – मधेश प्रदेशमा राष्ट्रिय जनगणना–२०७८ को तथ्याङ्कअनुसार मधेसमा २० वर्ष नपुगी विवाह गर्ने किशोरीको सङ्ख्या ५० प्रतिशतभन्दा बढी देखिएको छ ।

विवरणअनुसार १५ देखि १७ वर्षभित्र विवाह गर्ने २७ दशमलव ७ प्रतिशत छन् । यसैगरी १० देखि १४ वर्षको उमेरभित्र विवाह गर्ने ९ दशमलव ३ प्रतिशत र १० वर्ष उमेरमुनि विवाह गराइने ०.२ प्रतिशत रहेको छ । १८ र २० वर्ष उमेरबीच विवाह गर्ने ३९ दशमलव ५ प्रतिशत छन् । दुलाहाको उमेर २० देखिए पनि दुलही १७ वर्षका पाइएका छन् ।

उमेर नपुगी विवाह हुनेको सङ्ख्या ५० प्रतिशतमाथि पुग्ने देखिएको बालविवाहविरुद्ध सामाजिक अभियान सञ्चालन गर्दै आएको रत्यौली युवा क्लबका अध्यक्ष वैद्यनाथ चौधरीले जानकारी दिनुभयो ।

मधेशमा विवाह हुने सालाखाला औसत उमेर नै १८ वर्ष रहेको राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अभिलेखमा उल्लेख छ । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पति हेरेर उमेर नपुगेकी छोरी दिनेहरू समाजमा अझै धेरै रहेका क्लबका अध्यक्ष चाैधरीकाे भनाइ छ ।

बालविवाहको यो पाटोबाहेक अनमेल विवाह हुँदा पनि बालविवाहमा पर्ने किशोरी नै बढी रहेका देखिएको चौधरीले बताए । पछिल्ला केही वर्षयता अनमेल विवाह घट्दै गए पनि समाजमा पाको उमेरका पुरुषको सम्पत्ति हेरेर उमेर नपुगेकी छोरी दिनेहरु समाजमा अझै बाक्लै रहेको उनको भनाइ छ ।

बालविवाहको यो अवस्था अन्त्य गर्न जिल्लाका स्थानीय तहले विभिन्न सामाजिक सङ्घसँगको सहकार्यमा सामाजिक जागरण अभियान सञ्चालन गर्दै आएका छन् ।

मटिहानी, बलवा, मनराशिशवा, जलेश्वर र लोहारपट्टी नगरपालिका तथा पिपरा र महोत्तरी गाउँपालिकामा बालविवाहविरुद्ध सामाजिक जागरणका लागि विवाह प्रणाली सुधार परियोजना सञ्चालन भइरहेका मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए ।

यी सात स्थानीय तहका ४९ वटा विद्यालयमा बालविवाह अन्त्यका लागि जीवनोपयोगी शिक्षा र व्यवहार परिवर्तनसम्बन्धी सैद्धान्तिक कक्षा, छलफल र अभ्यास भइरहेका जनाउँदै यसबाट सकारात्मक परिणाम प्राप्त भइरहेको नगरप्रमुख मण्डलले बताए ।

बालविवाह न्यूनीकरणका लागि स्थानीय सरकारले विद्यालयमा बालबालिका र अभिभावकबीच जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन, तालिम र बालमैत्री शासनलगायत कार्यक्रम सञ्चालन गराइरहेका छन् ।

मटिहानी नगरपालिकाले उमेर पुगेपछि छोराछोरीको विवाह गराउने अभिभावक, विवाह विधि सम्पन्न गराउने गुरुरपुरोहित तथा मोल्वी (इस्लाम धर्मावलम्बीका पुरोहित) लाई सामाजिक सम्मान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...