देशका सबैजसो ठाउँको मौसम बदली, कहिले देखि हुन्छ मौसम सुधार ?

काठमाडौँ – अहिले देशका सबैजसो ठाउँमा बदली भएर कर्णाली, लुम्बिनी, गण्डकी र बाग्मती प्रदेशको केही ठाउँमा पानी परिरहेको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर साधारणतया बदली रही कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको केही स्थान र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा हल्का वर्षा भइरहेको छ ।

बितेको २४ घण्टामा गण्डकी प्रदेशभन्दा पश्चिमतर्फ धेरैजसो ठाउँमा पानी परेको छ । पछिल्लो २४ घण्टामा डडेल्धुरा, सुर्खेत लगायतका केही ठाउँमा ३० मिलिमिटरभन्दा धेरै पानी परेको छ भने मनाङ,बैतडी, दैलेख, कालिकोट लगायतका जिल्लामा पनि २० मिलिमिटर भन्दा धेरै पानी परेको छ ।

दिउँसो देशभर साधारणतया बदली रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती प्रदेशसहित कोशी प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा र बाँकी भूभागका थोरै स्थानमा छिटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान् महाशाखाले जनाएको छ ।

बाँकी भूभागमा पनि छिटपुट पानी पर्ने सम्भावना रहेको छ । उच्च पहाडी तथा हिमाली क्षेत्रका धेरैजसो ठाउँमा हिमपातको सम्भावना छ । भरे राति  कोशी, मधेश, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँमा वर्षा तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना छ ।

आज र भोलि पहाडी भूभागमा चट्याङ तथा हिमाली क्षेत्रका केही ठाउँमा बाक्लो हिमपात हुन सक्ने भएकोले सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ । भोलिदेखि मौसम सुधार हुन थाल्ने मौसमविद् रोजन लामिछानेले बताउनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...