काठमाडौं – इन्द्रेणी कार्यक्रमका सञ्चालक तथा गायक कृष्ण कँडेलविरूद्ध यौन दुर्व्यवहारको मुद्दा दायर भएको छ ।
आफूलाई कँडेलले दुर्व्यवहार गरेको दावीसहित उनले कँडेलमाथि सोमबार फिरादपत्र दर्ता गराएको जिल्ला अदालत काठमाडौंका स्रेस्तेदार रामु शर्माले जानकारी दिए ।
पीडित महिलाले कँडेलविरूद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २२४ अनुसार कारबाहीको मागसहित मुद्दा दर्ता गरेकी हुन् ।
उक्त दफामा यौन दुर्व्यवहार गर्न नहुने कसुर उल्लेख छ । कसैमाथि यौन दुर्व्यवहार गरेमा तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने उल्लेख छ ।
यसमा हदैसम्मको कारबाही गरी क्षतिपूर्ति समेत दिलाउन माग गरेको छ । पछिल्लो समय पीडित महिलाले सामाजिक सञ्जालमार्फत् आफूलाई कँडेलले यौन दुर्व्यवहार गरेको भन्दै सार्वजनिक गरेकी थिइन् ।
यसअघि नै कँडेलले आफ्नो गाली बेइज्जती भएको भन्दै ती महिलाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरेका थिए ।