काठमाडौं – अस्पतालमा उपचारका लागि भर्ना भएका एक बिरामीले एम्बुलेन्स चोरी गरी फरार भएको घटना सार्वजनिक भएको छ ।
घटना अमेरिकाको भर्जिनियास्थित एक अस्पतालमा सोमबार भएको हो । इनोभा फेयरफ्याक्स अस्पतालमा उपचाररत बिरामीले सोही अस्पतालमा रहेको एउटा एम्बुलेन्स चोरेर भागेका हुन् ।
स्थानीय प्रहरीले एम्बुलेन्स चोरी गरेर भागेका बिरामीको तस्बिर सार्वजनिक गरेको छ, जुन तस्बिर उनी भाग्दै गरेको अवस्थामा लिइएको हो ।एम्बुलेन्स चोरेर फरार भएका बिरामीको पहिचान ३२ वर्षीय रिकी लोवेका रुपमा गरिएको छ ।
प्रहरीका अनुसार उनी दुर्घटनामा परेर उपचारका लागि अस्पतालमा भर्ना भएका थिए । आफैँले चलाएको गाडी दुर्घटनामा परेपछि उनी उपचार गरिरहेका थिए ।
प्रहरीका अनुसार, उनको गाडीबाट दुई वटा बन्दुक र केही लागुऔषध समेत बरामद भएको थियो । आफू कारबाहीमा पर्ने भएपछि उनी अस्पतालबाट भागेको हुन सक्ने आँकलन गरिएको छ ।
उनले चोरेको एम्बुलेन्स भने फेला परेको छ । उनको खोजतलास जारी रहेको प्रहरीको भनाइ छ ।