आर्थिक समृद्धि, विकास र शान्ति नै मुलुकको आवश्यकता हो – राष्ट्रपति पौडेल

काभ्रे – राष्ट्रपति रामचन्द्र पौडेलले कृषि क्षेत्रको विकास मार्फत गरिबी न्यूनिकरण गर्न सकिने भन्दै यसका लागि कृषि क्षेत्रमा नीतिगत सुधारको आवश्यकता रहेको बताउनुभएको छ ।

बृहत काभ्रेपलान्चोक कृषि महोत्सव २०८० को अवसरमा शुक्रबार काभ्रेमा आयोजित समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले मुलुकमै उत्पादन र रोजगारी बढाएर आयात घटाउने तथा निर्यात बढाउनेतर्फ नीति निर्माता, योजनाविद् र सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउनुभएको छ ।

‘गरिबीको रेखाभित्र परेका जनसमुदायलाई बाहिर निकाल्न सक्ने क्षमता कृषि क्षेत्रमा भएको हुँदा यी क्षेत्रमा व्यापक नीतिगत सुधारको आवश्यकता मैले देखेको छु’, राष्ट्रपति पौडेलले भने ।

निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था तथा श्रम गर्नेको सम्मान गर्ने संस्कृति बसाल्नु अपरिहार्य रहेको उनले बताए ।

‘मुलतः कृषि, पर्यटन, जलस्रोत र उद्योग व्यवसायको विकासबाट नै हामीले औधोगिकिकरणको मार्ग प्रशस्त गरी आर्थिकरुपमा समृद्ध नेपालको निर्माण गर्न सक्छौ, जुन संघीय लोकतान्त्रिक गणतन्त्रको अभिष्ट पनि हो भन्ने मलाई लाग्दछ’, उनले भने ।

कृषि र पशुपालनका साथै लोपोन्मुख अवस्थाका प्रविधि, अभ्यास र रैथाने बालीको संरक्षण र संवर्द्धन गरी नयाँ पुस्तालाई परिचित गराउने तथा यसको ज्ञान र प्रविधि हस्तान्तरण गर्नुपर्नेमा उनले जोड दिएको छ ।

उनले विगतमा आफू पनि एउटा किसान भएको र सुन्तला कागती गोड्दा गोड्दै (कृषि कर्म गर्दागर्दै) आफू सांसद भएको स्मरण गरे । ‘कृषि नै जीवन हो, जनतालाई पाल्ने काभ्रेका उद्धमशील श्रमको अभिनन्दन गर्न म यहाँ आएको हूँ ।’ पौडेलले आफूले कषि क्रान्तिको कुरा शुरू गर्नुअघि काभ्रेका जनताले कृषि क्रान्ति गरिसकेको बताउनुभयो ।

उहाँले अहिले रसायनिक मलले मानिसको स्वास्थ्यमा प्रतिकुल असर गरिरहेको उल्लेख गर्दै भने, ‘हामीले अर्गानिक खेतीमा जोड़ दिनुपर्छ । रैथाने खानामा जस्तो स्वाद र शक्ति अहिलेको आधुनिक उत्पादनमा छैन, त्यही भएर अर्गानिक खेतीमा हाम्रो ध्यान केन्द्रित हुनुपर्छ ।’

पौडेलले राजधानीमा रहेको कालीमाटी कृषि बजार मात्रैले नपुग्ने भएकाले यस्ता अरु चार–पाँच वटा बजार आवश्यक भएको बताए । राष्ट्रपति पौडेलले राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट काभे्रका राजेन्द्र थापा, बद्रिप्रसाद ढुंगाना, रुपेश पाख्रिन र सिन्धुपाल्चोकका दिपककुमार लामिछाने, राजकुमार ढकाल र विनोद प्रदानलाई पुरस्कृत गरे ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...