काठमाडौँ – नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार बिहान एक बजेबाट लागू हुने गरी निगमले पेट्रोलियम पदार्थको मूल्य बनाएको हो ।
निगमले बिहीबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल र मट्टीतेलको लिटरमा दुई–दुई रूपैयाँ बढेको जानकारी दिएको छ । निमगका अनुसार खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत राखिएको छ ।
निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार नयाँ मूल्य तोकेको हो। आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको निगमद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो। निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १ रूपैयाँ ८३ पैसा र डिजेलमा एक रूपैयाँ ५६ पैसा बढाएर नयाँ मूल्य सूची पठाएको छ ।
निगमले मूल्य अभिवृद्धि करको प्रभाव एवं हालसालै लागू भएको पेट्रोलियम पदार्थ तथा ग्यासको स्वचालित मूल्य प्रणाली कार्यविधि-२०८० अनुसार आइओसीले पठाएको मूल्यमा नेपाली बजारको भाउ तय गरिएको जनाएको छ ।
निगमले तय गरेको नयाँ मूल्य देशभरका विभिन्न ठाउँअनुसार लागू हुनेछ । निगमले पेट्रोलियम पदार्थको मूल्यका लागि ठाउँहरूलाई तीन वर्ग विभाजन गरेको छ ।
पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १६९ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५७ रूपैयाँ ५० पैसा पर्नेछ ।
त्यस्तै दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन्। यो क्षेत्रमा अब पेट्रोलको भाउ १७१ रूपैयाँ प्रतिलिटर पर्नेछ। त्यस्तै डिजेल र मट्टीतेल १५९ रूपैयाँ पर्नेछ । तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन् । यो क्षेत्रमा अब पेट्रोलको भाउ १७२ रूपैयाँ प्रतिलिटर पर्नेछ ।
त्यस्तै डिजेल र मट्टीतेल १६० रूपैयाँ पर्नेछ । खाना पकाउने ग्यासको भाउ भने यथावत छ । अहिले देशभर ग्यासको भाउ १ हजार ९ सय १० रूपैयाँ भएको छ । आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट आफैं कच्चा तेल खरिद गर्दैन ।
आइओसीबाट आफूलाई चाहिने सबै किसिमका प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ । यसरी पेट्रोलियम किनेबापत् आइओसीले हरेक महिना पन्ध्र-पन्ध्र दिनमा आयल निगमलाई मूल्य पठाउँछ ।
आइओसीले पठाउने मूल्य उसले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको लागतमा आधारित हुन्छ । लागत मूल्यमा आफ्नो प्रशोधन शुल्क लगायत खन्य खर्चहरू जोडेर आइओसीले नेपालको निम्ति बिक्री मूल्य तय गर्छ ।
त्यसपछि आयल निगमले पेट्रोलियम आयात गरेबापत् सरकारलाई तिर्नुपर्ने भन्सार लगायत महसुलहरू, आफ्नो प्रशासनिक खर्च, ढुवानी लागत र डिलर कमिसनसमेत जोडेर उपभोक्ता मूल्य तय गर्छ ।
यसरी हामीले किन्ने पेट्रोल, डिजेल, मट्टीतेल र खाना पकाउने एलपी ग्यासको मूल्य निर्धारण हुन्छ । यो प्रक्रियामा पेट्रोलियमको मूल्य तय हुने सबभन्दा ठूलो आधार भनेकै आइओसीले अन्तर्राष्ट्रिय बजारबाट किन्ने कच्चा तेलको दाम हो ।