मन्त्रिपरिषद पुनर्गठन हुन्छ, तामाङ मन्त्री बन्छन् : प्रचण्ड

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने बताएका छन् । प्रधानमन्त्री दाहालले मन्त्रीमण्डल पुनर्गठन हुने निश्चित भएको उल्लेख गर्दै त्यसमा तामाङ समुदायका एक जनालाई मन्त्री बनाउने घोषणा समेत गरेका हुन् ।

सोनाम ल्होछारको अवसरमा शनिबार तामाङ समुदायले काठमाडौंको टुँडिखेलमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले संघीय मन्त्रिपरिषद पुनर्गठन हुने र बागमती प्रदेशबाट तामाङ समुदायको व्यक्ति मन्त्री बन्ने बताएका हुन् ।

गत वर्षको सोनाम ल्होछारमा पनि आफूले तामाङ समुदायको व्यक्तिलाई मन्त्री बनाउने भनेको तर बागमती प्रदेशको मात्र मन्त्री बनाउन सकिएको भन्दै उनले अब भने संघीय सरकारमै मन्त्री बनाउने आश्वासन दिएका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले सोनाम ल्होछारका लागि सरकारले यस वर्ष पनि सहयोग गर्ने आश्वासन दिए । गत वर्षको पेमेन्ट नभएको आफूले जानकारी पाएकाले त्यसको पनि फलोअप गर्ने प्रधानमन्त्री दाहालको भनाई थियो  ।

उनले भने, ‘म यसै मञ्चबाट विशेष अनुरोध गर्दछु–पहिचान र अधिकारको पक्षमा संघर्षरत राजनीतिक शक्ति र नेतृत्वलाई तपाईँहरूले राम्रोसँग चिन्नुभएको छ । यसको वरिपरि गोलबन्द हुन पनि म विशेष अपिल गर्न चाहन्छु । फेरि पनि हामी शक्तिशाली हुनेछौँ । पहिचान र अधिकारसँग सम्बन्धित आन्दोलनका बाँकी उपलब्धिहरू हामी प्राप्त गरी छोड्ने छौँ । गत साल मैले यसै मञ्चबाट तामाङ समुदायको खास गरी बागमती प्रदेशबाट मन्त्री बनाउने कुरामा, मन्त्री बन्नुहुन्छ भनेर भनेको थिए । मन्त्री बन्नु त भयो । प्रदेशमा बन्नुभयो । र त्यतिबेला संघमा पनि मन्त्री बनाउने कुरा भएको थियो । र म यहाँहरूलाई आज यो मञ्चबाट के कुरा घोषणा गर्न सक्ने ठाउँमा छु भने अब मन्त्रीमण्डलको जतिबेला पुनर्गठन हुन्छ, पहिलो प्राथमिकता बागमती प्रदेशको तामाङ समुदायको जनप्रतिनिधिलाई मन्त्री बनाइनेछ । म यो लाखौँ जनताको अगाडि भन्दैछु । अब संघको मन्त्रीमण्डल पुनर्गठन त हुन्छ हुन्छ । पुनर्गठन हुने बित्तिकै तामाङ मन्त्री हुन्छ । यो विश्वास म तपाईँहरूलाई दिलाउन चाहन्छु । तपाई लाखौँ जनसमुदायको बिचमा मैले यो कमिटमेन्ट गरेको छु ।’

‘हाम्रो कर्मचारीतन्त्र, हाम्रो विधि, विधान र प्रक्रिया निकै जटिल छ । मैले पक्कै पनि गतसाल भनेको हो–विगतको भन्दा दोब्बर गरेर तामाङ ल्होछारका लागि सहयोग हुन्छ । मैले त सही गरेर दिएको पनि हो । यहाँ उद्घोषकले घुमेको घुमेकै गरेको अर्थ र पर्यटन मन्त्रालयमा भनेर भन्नुभएको छ । म पोहोरलाई पनि फलो गर्छु’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...