काभ्रे – सरकारको विशेष अनुदानमा काभ्रेको दुर्गम मानिएका तीन गाउँपालिकामा स्थानीय घरका खरको छानो हटाएर जस्तापाता हालिने भएको छ ।
जिल्लाको तेमाल, खानीखोला र चौरीदेउराली गाउँपालिकामा रहेका खरको छानो भएका बाँकी करिब दुई सय घरमा जस्तापाताले छाउन लागिएको जनाइएको छ ।
सरकारको ‘सुरक्षित नागरिक आवास कार्यक्रम’अन्तर्गत चालू आर्थिक वर्षमा काभ्रेपलाञ्चोकको तीन स्थानीय तहमा रहेका खरका छानो हटाएर जस्तापाताको छानो हालिने जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जनाएको छ ।
कार्यक्रमअन्तर्गत यस वर्ष जिल्लाको तेमाल गाउँपालिकामा ८७ घरधुरी, खानीखोला गाउँपालिकाका ५७ र चौरीदेउराली गाउँपालिकाका ५२ घरधुरीमा रहेको खरको छानो हटाइने कार्यालयका प्रमुख इन्जिनियर सन्तोषकुमार निरौलाले जानकारी दिए ।
उनका अनुसार कार्यालयको कार्यक्षेत्रअन्तर्गत काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक र दोलखा जिल्लामा रहेका स्थानीय तहलाई पत्राचार गरी आफ्नो तहमा रहेका खरको छानो भएका घरधुरीको तथ्याङ्क माग गरिएको थियो । तथ्याङ्क मागिएका अन्य दुई जिल्लाबाट उक्त विवरण आएन ।