काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी अर्जुन चन्दले राजीनामा दिएका छन् ।
शुक्रवार प्रहरी नायव महानिरीक्षक चन्दले प्रहरी प्रधान कार्यालयमा राजीनामा पेश गरेका हुन् ।उनले व्यक्तिगत कारणले राजीनामा दिएको बताए ।
प्रहरी प्रधान कार्यालयले भने औपचारिक रुपमा राजीनामाको जानकारी आइनसकेको बताएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अध्यागमन अधिकृत र प्रहरी कर्मचारी बिचको विवाद छानबिन गर्न गठित समितिले गरेको सिफारसप्रति उनी असन्तुष्ट रहेको विमानस्थलका अधिकृतहरु बताउँछन् ।
समितिले विवादमा संलग्न असईलाई निलम्बन र डिएसपी रेवतीरमण पोखरेललाई सचेत गराउन सिफारिस गरेको छ । तर, चन्दले आन्तरिक बैठकमा कुटपिटमा संलग्न प्रहरी कर्मचारीले गलत नगरेको बताउँदै आएको विमानस्थलमा कार्यरत एकजना अधिकृतले बताए ।
चन्दले १३ वैशाखमा विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारी पाएका थिए । चन्द हालका प्रहरी महानिरीक्षक वसन्त कुँवरकै ब्याचका अधिकृत हुन् । राजीनामा नदिएको भए उनी ३० वर्षे सेवा अवधि कायम रहँदा २०८१ चैतसम्म प्रहरी सेवामा रहने थिए ।