काठमाडौं – अभिनेता दयाहाङ राईले अबको एक वर्ष नयाँ फिल्म साइन नगर्ने बताएका छन् । अभिनय गर्नुपर्ने धेरै फिल्म थुप्रिएका कारण उनले सो निर्णय लिएका हुन ।
‘मैले अभिनयका लागि सहमति जनाएको घोषणा हुन बाँकी ५ फिल्म छन् । त्यसपछिका अन्य फिल्म साइन गर्दिनँ,’ दयाहाङले भने, ‘साथीभाइको मुख हेर्दाहेर्दै धेरै फिल्म थुप्रियो ।’ दयाहाङले आफ्नो अभिनय रहेको फिल्मको सङ्ख्या धेरै भएकोले अब केही कम गर्ने सोच समेत राखेको सुनाए ।
बिहीबार फिल्म ‘दयारानी’को प्रेस मिटमा दयाहाङले फिल्म ‘दयारानी’ले दर्शकका लागि नौलो स्वाद हुने सुनाए । ‘फिल्म सन्तान नभएका श्रीमान् श्रीमतीबिचको कथा हो’, राइले थपे, ‘यसले सन्तान नभएका श्रीमान् श्रीमतीका लागि सन्ताको उपाय समेत खोज्छ ।’
‘दयारानी’ आगामी २६ गतेबाट सार्वजनिक प्रदर्शनमा आउँदै छ । यस वर्षको वैशाख १ गते दयाहाङका दुई फिल्म ‘जारी’ र ‘बिहेपास’ एकैदिन रिलिज भएका थिए ।
आफू अभिनित दुई फिल्म एउटै मितिमा आउँदा व्यावसायिक कोणबाट दबाब हुने भएपनि क्राफ्टको कोणबाट भने आफूलाई कस्तो फिल्म खेल्दा दर्शकले रुचि राख्छन् भनेर बुझ्ने अवसर हुने उनको ठम्याइ छ ।