काठमाडौँ – तस्करी गरेर दुबईबाट ल्याएपछि काठमाडौँबाट हराएको ३३ किलो सुनमा संलग्न चूडामणि उप्रेती ‘गोरे’ सँग सुन तस्करी जाँचबुझ आयोगका पदाधिकारीले बयान लिएका छन् ।
‘गोरे’ सुन्धारास्थित केन्द्रीय कारागारमा थुनामा छन् । उनलाई कारागारबाट झिकाएर बयान लिइएको सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगका अध्यक्ष डिल्लीराज आचार्यले रातोपाटीलाई बताए ।
२०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ । तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।
अचानक बयानका लागि सिंहदरबार ल्याएपछि गोरेले आयोगका पदाधिकारीहरूलाई सोधे–‘मलाई फेरी के गर्न थाल्नुभयो ?’ गृह मन्त्रालयका सह–सचिव ईश्वर पौडेलको नेतृत्वमा बनेको छानबिन समितिले गोरेलाई सिंहदरबारमै सार्वजनिक गरेको थियो । अहिले त्यही भवनमा आयोगले उनीसँग बयान लिएको छ ।
सरकारले सुनतस्करीबारे छानबिन गर्न उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको नेतृत्वमा छानबिन समिति बनाएको थियो । तीन महिनाको समय सीमा सकिएपछि फेरि थप भएको अवधिमा आयोगले सुन प्रकरणसँग सम्बन्धित अन्य व्यक्तिहरुसँग बयान लिइरहेको छ ।
समिति स्रोतका अनुसार, केहीअघि सहसचिव झलकराम अधिकारीको पनि बयान लिइएको छ । सुन तस्करी प्रकरणमा जोडिएका दावा छिरिङसँग भएको संवादको विषयलाई लिएर उनीसँग सोधपुछ भएको हो ।
अध्यागमन विभागमा महानिर्देशक रहेका बेला दावासँग उनको कुराकानी भएको विवरण सार्वजनिक भएका बेला मन्त्रालयले उनको जिम्मेवारी खोसेको थियो ।