काभ्रे – बागमती प्रदेशका खानेपानी उर्जा तथा सिंचाइमन्त्री तिर्थ लामाले ३ ओटा योजनाको शिलान्यास गरेका छन् । मन्त्रि लामाले ठूलो पँधेरो ढुङ्गेधारा खानेपानी आयोजना, तेमाल–५ पोखरी नारायणस्थानमा छोइतेन नाम्सुम छोइलिङ गुम्बा र सिंगटी लिप्ट खनेपानी आयोजनाको शिलान्यास गरेका हुन् ।
तेमाल गाउँपालिका ६ मा रहेको पञ्चकन्या मावि प्राङ्गणमा आयोजित ठूलो पँधेरो ढुङ्गेधारा खानेपानी आयोजना शिलान्यास गर्दै मन्त्री लामाले शिक्षा स्वास्थ्य क्षेत्रमा विभेद कायमै रहेको र विभेद अन्त्य गर्न जरुरी रहेको बताएका हुन् ।
मन्त्री लामाले प्रजातन्त्रमा समान अवसरको पहुँच आम नागरिकमा हुनुपर्ने भन्दै तेमालको समग्र विकासका लागि आफु अहोरात्र खटिरहेको बताए । विकट गाउँमा व्याप्त अशिक्षा, वेरोजगारीलाई निर्मुल बनाउने दायित्वबोध महशुस गरेको उनको भनाई छ ।
तेमालमा चालू आर्थिक वर्षमा मात्रै ७ वटा खानेपानी र २ वटा सिचाईको आयोजना कार्यान्वयन लागि अघि बढाइएको उनले बताए । ठूलो पँधेरो ढुङ्गेधारा आयोजनाका लागि २० लाख रुपैया बजेट छुट्याइएको र अपुग रकमका लागि पहल गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।
त्यसैगरि मन्त्री लामाले सिंगटी लिप्ट खनेपानी आयोजनाको समेत मन्त्री लामाले शिलान्यास गरेका छन् । खानेपानीको समस्या भोगिरहेका तेमालबासीहरुलाई थप राहत दिने उद्देश्यले एक घर एक धारा अन्तर्गत उक्त लिफ्टीङको शिलान्यास गरिएको हो ।
५० लाख बजेट बिनियोजन गरिएकोमा उक्त लिफ्टिङ आयोजना आगामी जेष्ठ भित्र सम्पन्न गरिसक्ने योजना रहेको छ । त्यसैगरि मन्त्री लामाले तेमाल–५ पोखरी नारायणस्थानमा छोइतेन नाम्सुम छोइलिङ गुम्बाको शिलान्यास पनि गरेका छन् ।
धार्मिक पर्यटकिय क्षेत्र नारायणस्थानको विकास र आमनागरिकको सर्वाङ्गीण बिकासमा आफ्नो ध्यान सदैव रहिरहने प्रतिवद्धता व्यक्त गर्दै मन्त्री लामाले २५ लाख रुपैयाँ बजेट खर्चर गर्ने गरि उक्त गुम्बा निर्माणको शिलान्यास गरेका हुन् ।