काठमाडौं – गएको संविधान दिवसमा असल चालचलन भएको भन्दै कारागारबाट छुटेका व्यक्ति फेरि चोरी आरोपमा पक्राउ परेका छन् ।
झम्सिखेलको एक घरमा भएको चोरीमा दोलखाको शैलुङ गाउँपालिका–४ का ४० वर्षका रघुनाथ बस्नेत भक्तपुरको निकोसेराबाट पक्राउ परेका ललितपुरका एसएसएपी शेखर खनाले जानकारी दिएका हुन् ।
प्रहरी वरिष्ठ उपरीक्षक खनाल भन्छन्,‘आरोपीले चोर्न जाँदा एउटा कपडा लगाएर घरमा पस्ने र निस्केर एकान्त ठाउँमा पुगेपछि अर्को कपडा परिवर्तन गरेर हिँड्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।’
प्रहरीका अनुसार, बस्नेतविरुद्ध हालसम्म १२ वटा मुद्दा दर्ता भएको देखिन्छ । तीमध्ये ९ वटा चोरीसम्बन्धी कसूरका छन् भने ३ वटा अभद्र व्यवहार सम्बन्धी कसूरमा छ ।
‘ललितपुरमा ४, काठमाडौंमा २, काभ्रेमा २, भक्तपुरमा एक र दोलखामा ३ वटा मुद्दा दर्ता भएको देखिएको छ’, खनालले भने ।
आरोपी रघुनाथ बस्नेत असोज ३ मा राष्ट्रपतिबाट कैद मिनाहा पाएर निस्केका हुन् । संविधान दिवसको अवसरमा निस्केका उनी मंसिर र पुसमा दुई वटा ठुला चोरीमा संलग्न भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । दुई महिनाको अवधिमा बस्नेतले ६१ लाख बराबरको धनमाल चोरेको आरोप छ ।
झम्सिखेलस्थित ठाकुर नाथ ढकालको घरबाट उनले पुस १ मा ३७ लाख १६ हजार बराबरको धनमाल चोरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
मंसिर १७ मा उनले सानेपास्थित सुप्रिया राईको डेरा फोडेर २४ लाख ७६ हजार बराबरको धनमाल चोरेको अनुसन्धानबाट थाहा भएको छ । उनले चोरेको केही सामानहरु प्रहरीले बरामद गरेको छ । उनले प्रहरीबाट बच्नका लागि चोरी गरेर फर्किँदा समेत सिधै घर नजाने गरेको पाइएको प्रहरीले जनाएको छ ।
‘भक्तपुरको निकोसेरा डेरा भएकामा उनी चोरी गरेर निस्किएर काठमाडौंका विभिन्न स्थान डुलेर कहिले साइकल कहिले पठाओ चढेर घरसम्म पुगेको देखिएको छ’, एसएसपी खनालले भने, ‘धेरै पटक पक्राउ परिसकेको भएर होला उनको अपराध शैली अलि फरक देखिएको छ ।’
प्रहरीले थप अनुसन्धान गरिरहेको छ भने चोरीका अन्य घटनामा पनि उनको संलग्नता हुनसक्ने आशंका छ ।