काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि भारतको नयाँदिल्ली लगिँदै छ । मंगलबार बेलुकी त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना भएका राष्ट्रपति पौडेललाई श्री एयरलाइन्स मार्फत् नयाँदिल्ली लैजान लागिएको हो ।
श्री एयरलाइन्सका महाप्रबन्धक अनिल मानन्धरले राष्ट्रपति पौडेललाई नयाँदिल्ली लैजान आवश्यक तयारी गरिरहेको जानकारी दिए ।
स्रोतका अनुसार राष्ट्रपति पौडेलको पेटमा इन्फेक्सन देखिएको छ । इन्फेक्सन नघटेपछि उनलाई भारतको एम्स अस्पतालमा उपचार गराउन लैजान लागिएको हो ।
यसअघि पेटमा समस्या देखिएपछि राष्ट्रपति पौडेल १८ चैतमा पाँच दिन त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका थिए । त्यसको फलोअपका लागि उनी सोमबार पुनः अस्पताल पुगेका थिए । त्यहाँ उनको पेटको तल्लो भागबाट पानी निकालेर परीक्षणका लागि पठाइएको थियो ।





















