आफ्नै सम्धीले पनि छाडेनन् राष्ट्रपति विद्यादेवी भण्डारीलाई, लगाए यस्तो गम्भिर आरोप

काठमाडौँ – पूर्वराष्ट्रपति डा. रामवरण यादवले संघीय संसद्‌ले पुनः पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधान उल्लंघन गरेको आरोप लगाएका छन् ।

राष्ट्रपति संस्थाको मर्यादा, गरिमा र कर्तव्यलाई समेत बोध नगरी राष्ट्रपति भण्डारीले सो विधेयक प्रमाणीकरण नगरेर संविधान उल्लंघन गरेको पूर्वराष्ट्रपति यादवको भनाइ थियो ।

जनकपुरमा बुधबार आयोजित कार्यक्रममा उनले प्रतिनिधिसभा विघटन गरेर पहिलोचोटी संविधान उल्लंघन गरेकी राष्ट्रपति भण्डारीले विधेयक प्रमाणीकरण नगरेर फेरि संविधान उल्लंघन गरेको भन्दै आपत्ति जनाए ।

दोस्रो पटक पनि संघीय संसदको दुवै सदनले पारित गरेर पठाएको सो विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणिकरण हुनबाट रोक्न मिल्ने अवस्था नै नरहेको पूर्वराष्ट्रपति यादवले पटक-पटक दोहोर्‍याए ।

उनले बेलायत, भारत, अमेरिकालगायत लोकतान्त्रिक मुलुकको परम्परा र संविधानविद् तथा कानुनविद्हरुसँग परामर्श गरेर सो विधेयकलाई प्रमाणीकरण नगरेको भन्दै राष्ट्रपति भण्डारीप्रति असन्तुष्टि व्यक्त गरे ।

पूर्वराष्ट्रपति यादवले राष्ट्रपतिले सो विधेयक प्रमाणीकरण नगरेर नेपालको लोकतन्त्रमै कालो बादल मडारिएको उल्लेख गर्दै संविधानलाई बचाउन नेपाली जनतालाई सजग भएर लाग्न पनि आग्रह गरे ।

पूर्वराष्ट्रपति यादवले केपी ओली नेतृत्वको सरकारले संविधानविपरित प्रतिनिधिसभा भंग गर्दा दलीय गठबन्धन, नागरिक समाज, बुद्धिजीवी, सञ्चार क्षेत्र र आमनेपाली जनताले बचाएको उल्लेख गर्दै नेपाली जनताले फेरि पनि संविधान बचाउन पहल गर्नुपर्ने बताए । राष्ट्रपति भण्डारीको यो कदम पनि नसच्चिए फेरि मुलुकमा प्रतिगमन हुने उनको भनाइ थियो ।

यो पनि : सत्ता गठबन्धनले नागरिकता विधेयक प्रमाणीकरण नगर्नु असंवैधानिक भएको निष्कर्ष निकालेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको बैठकमा संघीय संसदले पास गरेर पठाएको १५ दिनसम्म पनि नागरिकता विधेयक प्रमाणीकरण नभएको विषयमा छलफल भएको थियो ।

राष्ट्रपतिले २९ साउनमा सन्देशसहित प्रतिनिधिसभामा फर्काइएको नागरिकता विधेयक प्रतिनिधि सभा र राष्ट्रय सभाले हुबहु पास गरेको थियो । २० भदौमा सभामुख अग्निप्रसाद सापकोटाले प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाएका थिए । संविधानको व्यवस्थाअनुसार यो विधेयक ४ असोज (मंगलबार मध्यरात)सम्म प्रमाणीकरण गरिसक्नुपर्ने थियो, तर राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरिनन् ।

नागरिकता विधेयक प्रमाणित नगर्नु संविधानको उल्लंघन भएको गठबन्धनको ठहर छ । ‘राष्ट्रपतिको कदम असंवैधानिक हो, गठबन्धनको तर्फबाट वक्तव्य आउँछ,’ माओवादी उपमहासचिव वर्षमान पुनले अनलाइनखबरसँग भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...