प्रहरीको सम्पर्कमा नआएपछि सन्दिप लामेछानेलाई पक्राउ गर्न प्रहरीले चाल्यो यस्तो कदम

काठमाडौं – नेपालका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछानेलाई खोज्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को सहयोग लिने प्रक्रिया सुरु गरेको छ ।

नाबालिग बलात्कार गरेको अभियोगमा लामिछानेविरुद्ध जिल्ला अदालत काठमाडौंबाट पक्राउ पूर्जी जारी भएको छ । त्यही आधारमा उनको खोजीका लागि इन्टरपोलमार्फत रेड नोटिस जारी गराउन प्रक्रिया अघि बढाइएको हो । यो नोटिस जारी भए इन्टरपोलका सदस्य राष्ट्र रहेका १९५ देशका सुरक्षा निकायले उनको खोजी गर्नेछन् ।

प्रहरी प्रधान कार्यालय नक्सालका एक उच्च अधिकृतका अनुसार जिल्ला प्रहरी परिसर काठमाडौंको आग्रहमा इन्टरपोलको नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) काठमाडौंले रेड नोटिस जारी गराउने प्रक्रिया अघि बढाएको हो ।

‘अदालतबाट पक्राउ पूर्जी जारी नभएको भए डिफ्यूजनका लागि प्रक्रिया अघि बढाउन सक्थ्यौं,’ उनले भने, ‘तर अदालतबाट पूर्जी जारी भइसकेकाले अनुसन्धानका क्रममा देखिएका थप प्रमाण समेत उल्लेख गरेर रेड नोटिस जारी गराउन कागजात जुटाउन थालेका छौं ।’

प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार एनसीबी काठमाडौंले केही दिनमै इन्टरपोलको फ्रान्सस्थित हेडक्वार्टरलाई पत्राचार गर्नेछ । ‘यहाँबाट पठाएको पत्रको आधारमा नोटिसबारे इन्टरपोल सचिवालयबाट अन्तिम निर्णय हुनेछ,’ ती अधिकृतले भने ।

लामिछाने ६ भदौमा टी–२० सिरिज खेल्न केन्या गएका थिए । त्यसको अघिल्लो राति उनले काठमाडौंको पिंगलास्थानस्थित एक होटलमा लगेर १७ वर्षकी किशोरीलाई जबरजस्ती करणी गरेको अभियोग छ ।

उनी आफैं मध्य बानेश्वरस्थित होस्टल नजिकै पीडितलाई लिन गएका थिए । खाजा खाने बहानामा भक्तपुरको नगरकोटमाा लगेको र ढिला गरी फर्किएको पीडितको जाहेरीमा उल्लेख छ । काठमाडौं आइपुग्दा राति साढे १० भइसकेको थियो र होस्टल बन्द हुने भन्दै उनलाई होटलमा बस्न लामिछानेले भनेका थिए ।

मध्यराति उनले पटकपटक बलात्कार गरेको भन्दै २१ भदौमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता भएको थियो । त्यसपछि उनले सामाजिक सञ्जालमा फेसबुकमा स्ट्याटस लेख्दै उनले आफू निर्दोष रहेको र कानूनको सम्मान गर्दै नेपाल आउन लागेको बताएका थिए । तर अहिले उनी सम्पर्कविहीन छन् ।

इन्टरपोलले ‘रेड’, ‘ब्लु’, ‘ग्रीन’, ‘ब्ल्याक’, ‘एल्लो’, ‘ओरेन्ज’, ‘पर्पल’ र ‘इन्टरपोल स्पेशल नोटिस’ गरी ८ किसिमको नोटिस जारी गर्ने गर्छ ।

यस्ता नोटिस तथा डिफ्युजन जारी गर्न इन्टरपोलका सदस्य राष्ट्रले फ्रान्सस्थित इन्टरपोलको प्रधान कार्यालयमा अनुरोध गर्नुपर्छ । त्यसपछि सचिवालयले त्यसमाथि निर्णय गरेर नोटिस जारी गर्छ ।

इन्टपोलमार्फत जारी भएको नोटिसको सबै सदस्य राष्ट्रसँग सूचना आदान–प्रदान हुन्छ । सबै सदस्य राष्ट्रका नेशनल सेन्ट्रल व्यूरो (एनसीबी) ले त्यस प्रणालीमार्फत नोटिसका लागि प्रधान कार्यालयलाई अनुरोध गर्छन् ।

नेपाल प्रहरी ११ असोज २०२४ देखि इन्टरपोलको सदस्य छ । पछिल्लो एक वर्षमा मात्रै एनसीबी काठमाडौंको अनुरोधमा इन्टरपोलले ८ वटा रेड र २ वटा एल्लो नोटिस जारी गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...