काठमाडौं – पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले काठमाडौं महानगरका मेयर बालेन शाहका पछिल्ला गतिविधि र त्यसमाथि भइरहेको प्रशंसाप्रति व्यंग्य गरेका छन् । शुक्रबार बिहान बालेनले आफूलाई प्रधानममन्त्रीकाल सम्झाउने गरी फर्काएको जवाफपछि भट्टराईले यस्तो कटाक्ष गरेका हुन् ।
उनले फेसबुकमा लेखेका छन् । ‘काठमाण्डौ ताजुव उपत्यका हो । यसले भारतीय राजा हरिसिंह देवलाई दुई बर्ष शासन गर्न दिएर लखेट्यो । पछि उनैका छोरीपट्टिका नाती जयस्थिती मल्ललाई चार सय वर्षको मल्ल शासनको जग बसाल्ने मौका दियो । पृथ्वीनारायण शाहको निर्माण गरायो । अहिले यो बालेन शाहलाई पृथ्वीनारायणको अवतार बनाउने धुनमा छ।’
सामाजिक सञ्जालमै यसअघि डा. भट्टराईले फुटपाथ व्यवसायीलाई निश्चित ठाउँ र समय तोकेर व्यापार गर्न दिनु पर्ने बताएका थिए । जसप्रति प्रतिक्रिया दिँदै बालेनले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा किन नसोचेको भनेर भट्टराईप्रति प्रशन गरेका थिए ।
बालेनको भेटे दनक !
फुटपाथ व्यवस्थित गर्न पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सामाजिक सन्जालमार्फत् दिएको सुझावलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पनि सामाजिक सन्जालबाटै जवाफ फर्काएका छन् ।
उनले बाबुरामलाई भनेका छन्, ‘यो कुरा त तपाईंले हजारौंको घर भत्काएर फुटपाथ बनाउँदा पनि सोच्न पर्थ्यो नि ।’
नेसपा अध्यक्षसमेत रहेका डा. भट्टराईले बालेनको कामको प्रशंसा गर्दै फुटपाथमा व्यापार गर्नेहरुलाई निश्चित ठाउँ र समय तोकेर व्यवस्थित गर्नैपर्ने लेखेका थिए । त्यस सम्बन्धी अनलाइनखबरको समाचार बाबुरामले सेयर गरेका छन् । त्यसकै मुनि बालेनले आफ्नो जवाफ लेखेका हुन् । बालेनको जवाफमा ७ सयभन्दा धेरैले प्रतिक्रिया जनाएका छन् ।
बालेनलाई बाबुराम भट्टराईको आग्रह : निश्चित ठाउॅ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गरौं
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले फुटपाथ व्यवस्थापन गर्न काठमाडौं महानगरपालिकाले अंगिकार गरेको नीतिको प्रशंसा गरेका छन् । महानगर मेयर बालेन्द्र शाह ‘बालेन’ले असन, नयाँ बानेश्वरसहितका क्षेत्रको फुटपाथ व्यापार हटाएका थिए ।
भट्टराईले भनेका छन्, ‘काठमाडौं मनपालाई व्यवस्थित गर्ने, मृत प्रायःबनेका नदीलाई पुनर्जीवन दिने आदि मेयर (बालेन) का पहल प्रशंसनीय छन् । फुटपाथ पनि व्यवस्थित गर्नुपर्छ ।’
तर, निश्चित ठाउँ र समय तोकेर फुटपाथ व्यवसायको व्यवस्थापन गर्नुपर्ने भट्टराईले बताएका छन् । ‘संसारभर स्वरोजगार श्रमिक फुटपाथ वा सार्वजनिक ठाउँमा व्यवसाय गर्न बाध्य हुन्छन् । अतःनिश्चित ठाउँ,समय तोकेर तिनको व्यवस्थापन गर्नैपर्छ,’ उनले भनेका छन् ।





















