काठमाडौं – प्रचण्ड गिरिराजमणि पोखरेल, रामेश्वरराय यादव र शक्ति बस्नेतकै सामु भन्दै हुनुहुन्थ्यो, ‘म बाबुरामजीसँग सल्लाह गर्छु, त्यसपछि गरौँला ।’ तर, मान्नुपर्नेले मान्दै मानेनन् । र, कर गर्न थाले ‘सल्लाह गरेर हुँदैन, गर्ने भए अहिल्यै गर्नुपर्यो !’
बाबुरामको साथ छोडेर माओवादी केन्द्रमा प्रवेश गर्न भनी आइतबार बिहान साढे सातै बजे खुमलटार पुग्दा पूर्वमन्त्री वकिल अतहर मुसलमानले प्रचण्डलाई बाबुरामसँग सल्लाह गर्नै दिएनन् । करिव–करिव एकताको स्थिति भइसकेपछि बाबुरामको साथ छोडेर आउनेलाई त्यसभन्दा पहिले नै पार्टीमा प्रवेश गराउने कि नगराउने भन्ने अन्यौलता प्रचण्डमा देखियो । उहाँले त्यही कुरामा बाबुरामसँग सल्लाह गर्ने मनशाय राख्नुभयो ।
तर, मुसलमान कड्किए, ‘उहाँसँग एकता गर्नुस् कि नगर्नुस्, मतलब छैन । मलाईचाहिँ अहिले नै प्रवेश गराइहाल्नुस् न बाबुरामले बीचमा के के अत्तो थापेर भाँडिदिन्छन् !’ प्रचण्ड ‘एकछिन–एकछिन’ भनेर थुम्थुम्याउन खोज्दै हुनुुहुन्थ्यो, मुसलमान कराउन थाले ‘हुँदैन, मलाई प्रवेश गराइहाल्नुस् ।’ उनले ‘फेरि म हिँड्छु है कमरेड’ भनेर चेतावनीयुक्त शैलीमा कराएपछि प्रचण्डले ‘लु त लु, आउनुस्’ भन्दै अबिर र खादा लगाइदिनुभयो ।
त्यही मेसोमा सप्तरीका वैज्ञानिक डा.रोशन यादवहरु पनि माओवादीमा प्रवेश गरे । रुपन्देहीका मुसलमानको समस्या बाबुरामसँग रहेछ । माओवादीसँगै एकता गर्ने भएपछि किन बाबुरामको पछि लागेर आउनु भन्ने उनको भनाइ थियो । तुरुन्तै प्रवेश नगराए बाबुरामले अनेकथोक भनेर भाँड्ने खतरा उनले औँल्याए ।
त्यस्तै, माओवादी केन्द्रले जनकपुरमा प्रदेशभरिका केन्द्रीय सदस्यको भेला गरेर चुनावी जिम्मेवारी बाँडफाँड गर्ने भएको छ । उता, प्रचण्डको माधव नेपालसँग पनि कुरा भइरहेको छ । एउटै चुनाव चिह्नमा लड्ने सम्भावना आधा–आधा छ । मूल कुरा त झलनाथ खनाललाई व्यवस्थापन गर्नुपर्ने छ । उहाँको चाहना शीतल निवासको छ ।
त्यसअघि महन्थ ठाकुरसँग मिलेर जाने कुरा थियो । तर, अब त्यो सम्भावना पनि कम छ । महन्थ नेतृत्वको लोसपालाई सरकारमा लाने, दुई मन्त्रालय दिने सल्लाह थियो । दिलेन्द्र बडुलाई उद्योगबाट हटाउने कुरा पनि सोचिएकै हो । तर, अब यो सम्भावना कम भएको खुमलटारस्रोतले जनाएको छ । लोसपा एमालेसँग चुनावमा गयो भने साफ हुने माओवादी नेताहरु बताउँछन् । किनभने, नागरिकता विधेयकपछि मधेसमा एमालेको राम्रो छवि छैन ।
चुनावमा गठबन्धन हुने र त्यो अवस्थामा टिकट नपाउने प्रभावशाली नेतालाई एमालेले चम्काइदियो भने समस्या हुनेबारे पनि खुमलटारमा चर्चा भएको छ । ‘टिकट नपाएपछि एमालेले उत्तेजित बनाएर कतिपय ठाउँमा जित्न सक्छ’, एक नेता भन्दै थिए । भनिन्छ, यसचोटिको चुनावमा कांग्रेसले सर्लाहीबाट अमरेशकुमार सिंहको सट्टा गठबन्धनलाई छोडिदिने भएको छ । त्यहाँबाट बाबुरामपक्षीय महेन्द्र राय यादव उठ्ने चर्चा छ ।





















