मिस नेपाल अर्थ शरिसा श्रेष्ठले राखिन् विश्व रेकर्ड, गरिन नेपालीको शिर उच्च

काठमाडौं – ‘मिस नेपाल अर्थ २०२२’ विजेता डा. शरिसा श्रेष्ठले वर्ल्ड बुक अफ रेकर्ड्समा आफ्नो नाम लेखाएकी छन्। भारतको मध्य प्रदेशस्थित इन्दोरमा आयोजित वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा शरिसा विश्व रेकर्ड होल्डरको रूपमा सम्मानित भएकी हुन्। उनी कार्यक्रममा विशेष अतिथिकाे रूपमा सहभागी थिइन्।

उनको टोलीले नेपाललाई एडभेन्चर हबको रूपमा प्रवर्द्धन गर्न पोखरामा १,९०० मिटरमा प्याराग्लाइडिङ गर्दै खिचेर भिडिओ तयार पारेको थियो। उक्त म्युजिक भिडिओ ‘सरर बग्यो हावा’ले विश्व कीर्तिमान कायम गरेको हाे।

गीतमा वरिष्ठ गीतकार हरिगोपाल प्रधानको शब्द छ भने सुबानी मोक्तान र निर्णय श्रेष्ठको स्वर छ। म्युजिक भिडिओमा मिस नेपाल अर्थ २०२२ डा. शरिसाको मुख्य भूमिका देख्न सकिन्छ।

उनले सम्मान र भिडिओबारे फेसबुकमा लेखेकी छन्, ‘यो म्युजिक भिडिओमा मुख्य नायिकाको भूमिकामा अभिनय गर्ने अवसर पाएकोमा म निकै खुशी छु। यससँगै विश्व मञ्चमा देशको प्रतिनिधित्व गर्नेमध्ये म पनि एक रहेकोमा गर्व महसुस गर्दैछु।’

सोमबार आयोजित वर्ल्ड बुक अफ रेकर्ड्स अवार्ड समारोहमा श्रेष्ठ भारतका पूर्व लेफ्टिनेन्ट गभर्नर किरण बेदीको किताब ‘फियरलेस गभर्नेन्स’को विमोचनाको लागि उपस्थिति जनाएकी थिइन्।

उनले आफ्नो उपस्थितिबारे फेसबुकमा लेखेकी छन्, ‘भारतका पूर्व लेफ्टिनेन्ट गभर्नर डा. किरण बेदीजी, आइपिएसको पुस्तक फियरलेस गभर्नेन्सको विमोचन गर्नु मेरो लागि सौभाग्यको कुरा हो।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...