के प्रचण्डले काठमाडौंमा चुनाव उठाउन तयार पारेका ‘बालेनभन्दा लोकप्रिय’ कुलमान घिसिङ हुन् ?

काठमाडौं – माओवादी केन्द्रभित्र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई आगामी ४ मंसिरको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाउनेबारे अनौपचारिक छलफल चलेको छ ।

रामेछापको सुनापति–४ डहूका स्थायी बासिन्दा घिसिङलाई प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन माओवादीका केही जिल्ला नेता लागिपरेका छन् । तर, माओवादी रामेछाप संयोजकसमेत रहेका दोरम्बा गाउँपालिका अध्यक्ष मैनकुमार मोक्तानले घिसिङलाई उम्मेदवार बनाउनेबारे कुनै जानकारी नभएको बताए ।

‘उहाँ रामेछापको बासिन्दा भएको हुनाले सम्भावित उम्मेदवारबारे कुरा हुँदा कसैले नाम लिएको हुन सक्छ’, मोक्तानले काठमाण्डुटुडेसँग भने, ‘मैले चाहिं यो विषयमा केही सुनेको छैन, उहाँ (घिसिङ) ले पनि राजनीतिमा आउने इच्छा देखाउनु भएको थाहा छैन ।’

प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र मात्र रहेको रामेछाप गठबन्धनबीचको भागबण्डामा माओवादीले पाउने करिब पक्काजस्तै छ । हाल रामेछापबाट माओवादीका श्यामकुमार श्रेष्ठ प्रतिनिधिसभा सदस्य छन् । दुईपटक लगातार निर्वाचित भएका श्रेष्ठ तेश्रो कार्यकालका लागि पुनः आफैं उम्मेदवार बन्ने मनस्थितिमा छन् ।

रामेछापबाटै प्रतिनिधित्व गर्ने पोलिट्ब्युरो सदस्य युवराज चौलागाईं पनि यसपटक उम्मेदवार बन्न कस्सिएका छन् । घिसिङ सक्रिय राजनीतिमा नरहे पनि भित्रभित्रै माओवादीप्रति नरम भाव राख्छन् । लोडसेडिङ अन्त्य गरेर दुवैपटक उनलाई प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी माओवादीले दिएको हो ।

पछिल्लोपटक घिसिङ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रस्तावमा ०७८ साउन २६ मा प्राधिकरणको कार्यकारी निर्देशक नियुक्त भएका थिए । ०७७ भदौमा चार वर्षे कार्यकाल सकिएर बिदा भएका घिसिङलाई दोश्रो कार्यकालका लागि नियुक्त गरिएको हो । पहिलो कार्यकाल सकिनुअघि नै घिसिङले आफूले  थालेका कतिपय महत्वपूर्ण काम सक्न बाँकी रहेको भन्दै तत्कालीन प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड र ऊर्जा जलश्रोत तथा सिंचायमन्त्री वर्षमान पुन अनन्तलाई अर्को कार्यकाल पनि काम गर्ने मौका दिन आग्रह गरेका थिए । प्रचण्ड घिसिङलाई दोहो¥याउन चाहन्थे ।

उनले प्रधानमन्त्री ओली र मन्त्री पुनलाई उनको कार्यकाल थप्न आग्रह गरेका थिए । पुनले मन्त्रिपरिषद् बैठकमा घिसिङको पुनर्नियुक्तिको प्रस्ताव लगेका पनि थिए । तर, प्रधानमन्त्री ओली उनलाई निरन्तरता दिने पक्षमा देखिएनन् । ओलीले हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाए । इलामका स्थायी बासिन्दा शाक्य प्राधिकरणको कार्यकारी नियुक्त भएपछि लोडसेडिङ अन्त्य गरेर ख्याती कमाएका घिसिङलाई घर पठाएर ‘साला नाता पर्ने शाक्यलाई नियुक्त गरेको’ भन्दै ओलीको चर्को आलोचना भएको थियो ।

प्रचण्डले संकेत गरेका बालेनभन्दा लोकप्रिय कुलमान हुन् ?
केपी ओलीले आफ्नो जोडबलका बाबजुद निरन्तरता दिन नचाहेपछि प्रचण्डले कुलमानलाई खुमलटार निवासमै बोलाए अब पार्टी राजनीतिमा आउन भनेका थिए । उतिबेलै प्रचण्डले काठमाण्डुको कुनै एक निर्वाचन क्षेत्रमा चुनाव उठ्ने गरी तयारी अघि बढाउन घिसिङलाई भनेका थिए । तर, घिसिङले खासै चासो देखाएनन् ।

चुनाव आउन दुई वर्ष बाँकी रहेको भन्दै घिसिङले त्यतिबेला प्रचण्डको प्रस्तावलाई गम्भीरतापूर्वक लिएनन् । ४ मंसिरमा निर्वाचन मिति घोषणा भएसँगै देशैभर सम्भावित उम्मेदवारहरु चलमलाउन थालेका छन् । पार्टीहरुभित्र पनि कसलाई कुन निर्वाचन क्षेत्रमा उम्मेदवार बनाउने भन्ने छलफल तीव्र भएको छ । माओवादीले सत्ता गठबन्धनबीचको भागबण्डामा काठमाण्डुमा जम्मा २ निर्वाचन क्षेत्रमा मात्र दाबी पेस गरेको छ ।

श्रोतका अनुसार काठमाण्डुको क्षेत्र नम्बर–२ र ७ मा माओवादीको दाबी छ । तर, कमजोर संगठनात्मक धरातलका बीच गठबन्धनका घरमा मात्र काठमाण्डुमा चुनाव जित्ने विश्वास स्वयं माओवादी शीर्ष नेतृत्वलाई समेत छैन । यस्तोमा माओवादीले लोकप्रिय उम्मेदवार खोजेको हुन सक्छ ।

सोमबार पार्टीसम्वद्ध बुद्धिजिवी र पेशागत क्षेत्रका व्यक्तिहरु सम्मिलित उपत्यका विशेष प्रदेश समितिको बैठक तथा प्रशिक्षण कार्यक्रममा प्रचण्डले पार्टीबाहिरका व्यक्तिलाई ल्याएर उम्मेदवार बनाउने संकेत गरे । उनले काठमाण्डु महानगरका मेयर बालेन्द्र साह (बालेन) भन्दा लोकप्रिय उम्मेदवार काठमाण्डुका लागि तयार पारिसकेको बताए । तर, नाम भने कसैको लिएनन् ।

उनले कसैले सोच्दै नसोचेको उम्मेदवार उठाइने बताए । काठमाण्डु महानगरमा बालेन्द्र साहले जनताको ‘सेन्टिमेन्ट’ मा खेलेर निर्वाचन जित्न सफल भएको भन्दै प्रचण्डले जनताको ‘सेन्टिमेन्ट’ मा खेल्न सक्ने उम्मेदवार आफूले खोजिसकेको बताए ।

धेरैले बालेनभन्दा लोकप्रिय र जनताको ‘सेण्टिमेन्ट’ मा खेल्न सक्ने व्यक्ति कुलमान हुन सक्ने लख काटेका छन् । १८ घण्टासम्म लोडसेडिङ हुने गरेको मुलुकलाई उज्यालो दिएको भन्दै कुलमान काठमाण्डुसहित सहरी क्षेत्रका सर्वसाधारणबचि लोकप्रिय छन् । उनलाई कतिपयले भावी ऊर्जामन्त्री र प्रधानमन्त्रीको समेत संज्ञा दिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...