काठमाडौं — देश आसन्न संघ र प्रदेशको चुनावमा होमिएको छ । पार्टीका शीर्ष नेता बाहेक अधिकांश नेताहरुले उम्मेदवारी घोषणा गरिरहेका छन् ।
यसैबीच, नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी पनि प्रत्यक्षबाटै चुनाव लड्ने भन्दै तातेका छन् । कांग्रेसबाट अहिले समानुपातिक सांसद रहेका चौधरी अब प्रत्यक्षबाट चुनाव लड्न कस्सिएका छन् ।
आसन्न निर्वाचनमा चौधरी नवलपरासीबाट सजिलै चुनाव जित्छु भन्दै हौसिएर लागेका छन् । चौधरी नेपालका यस्ता धनाढ्य हुन जो फोब्र्सको सूचीमा समेत छन् । चौधरी नेपालको सबैभन्दा धनि र नेपालका एकमात्र डलर अर्बपति समेत हुन् । तर अचम्मको कुरा चौधरी कर तिर्नेमा नेपालमा एकसय भित्र समेत मुस्किलले पर्छन् ।
नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा उम्मेदवारी दिने भन्दै राजनीतिक गतिविधिमा सक्रिय देखिएका उद्योगपति चौधरीविरुद्ध नेकपा एमाले आक्रमक रुपमा प्रस्तुत भएको छ ।
शनिबार देवचुलीमा आयोजित एमालेको प्रशिक्षण कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्य देवी ज्ञवाली चौधरीविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए । उनले उद्यमी चौधरीलाई मुद्रा अपचलन गरेको र राज्य दोहन गरेको पनि आरोप लगाएका छन् ।
उनले भनेका छन्, संसारकै धनी व्यक्तिहरुको सूचीमा परेको तर नेपालमा कर तिर्ने बेलामा सय नम्बरमा पनि नपर्ने व्यक्ति निर्वाचनमा यही जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको सुन्दैछु, त्यस्तालाई चिन्नु पर्छ । यस्तै नेता ज्ञवालीले चौधरीलाई नेपालमा उद्योग गरेर चौधरीले विदेशमा सम्पत्ति लगेर मुद्रा अपचलन गरेको र राज्य दोहन गरेको पनि आरोप लगाएका थिए ।
ज्ञवालीले बिनोद चौधरीको नाम उच्चारण नगरिकन उनलाई संकेत गर्दै भने, तिनै कर नतिर्ने, मुद्रा विदेश लैजाने व्यक्ति यही जिल्लाबाट चुनाव लड्न आतुर रहेकोले उनलाई परास्त गर्नुपर्छ ।
नेता ज्ञवालीले देवचुली नगरपालिकाको दुम्कौलीमा रहेको चौधरीको उद्योगले प्रदूषण फैलाएको र स्वास्थ्य संवेदनशिलतामा लापरबाही गरेको पनि ज्ञावालीको आरोप छ ।
२०६४ सालको संविधानसभा सदस्यमा नेकपा एमालेबाट समानुपातिक सांसद भइसकेका विनोद चौधरी २०७४ सालमा कांग्रेस प्रवेश गरेका हुन् ।
कांग्रेसको १४ औं महाधिवेशनबाट केन्द्रीय सदस्य चुनिएका चौधरी पूर्वी नवलपरासीबाट आगामी मंसिरमा हुने निर्वाचनमा संघीय सांसदको प्रत्यक्ष निर्वाचनमा उम्मेदवारी दिने भन्दै भेटघाट बढाइँदा एमालेका नेताहरू पनि विरुद्ध आक्रमक देखिएका हुन् ।





















