काठमाडौं – अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने देश दौडाहामा छन् । लामिछानेको पार्टीलाई देशभरबाट उत्साहित बनाउने प्रतिक्रिया मिलेको छ र जनताले साथ पनि दिइरहेका छन् ।
यसबाट प्रमुख दलका नेताहरु अतालिएको संकेत सार्वजनिक हुन थालेको छ । प्रमुख दलहरु नेपाली कांग्रेस र नेकपा एमालेको शीर्ष तहबाटै रवि र उनको पार्टीका आलोचना त्यो पनि सार्वजनिक रुपमै हुन थालेको छ ।
केही महिना अगाडी सम्पन्न स्थानिय तहमा केही महत्वपूर्ण मानिएका पालिकामा स्वतन्त्र उम्मेदवारले बाजी मारेका थिए त्यसको मुख्य कारण बनेको थियो विपक्षी उम्मेदवारले एजेण्डा भन्दा आफ्ना प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारविरुद्ध मनपरी टिप्पणी गर्नु । उदाहरणका लागि काठमाडौंं महानगरपालिकाका वर्तमान मेयर बालेन साहको बारेमा नचाहिने टिप्पणी गरेर एमाले उम्मेदवार केशव स्थापित हारेका थिए ।
अहिले रवि लामिछाने र उनको पार्टीको आलोचना र टिप्पणी गर्न प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मैदानमै उत्रिन थालेका छन् । ओलीले आफ्नो बोलीमा लगाम लगाउनुपर्ने उनकै पार्टीका नेताहरु बताउन थालेका छन् । ओलीले रविको बारेको गरेको टिप्पणी भाइरल बनेपछि ओली नै रविका लागि वरदान सावित हुने भन्दै सामाजिक सञ्जालमा टिप्पणी हुन थालेको छ ।
एकातर्फ देशभरबाट पाइरहेको जनताको उत्साह र अर्कातर्फ शीर्ष नेताहरुले नै आफ्नो बारेमा टिप्पणी हुन रवि लामिछानेका लागि आउने चुनावमा दुवै हातमा लड्डु हुने देखिएको छ ।
रवि बारे के भनेका थिए ओलीले ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेको आलोचना गरेका थिए ।लोकतन्त्र ल्याउन बलिदान गरेका नेताहरुको अपमान गरेको भन्दै ओलीले लामिछानेलाई ‘भडुवा’ भनेका छन् । शनिबार काठमाडौंमा आयोजित अगुवा कार्यकर्ता भेलामा ओलीले लामिछानेलाई एउटा जमातले साथ दियो भन्दैमा नेता भएँ भन्दै हिँडेको टिप्पणी गरे ।
‘‘देशमा लोकतन्त्र ल्याउन बलिदान गरेर आएका, संघर्ष गरेर आएका, जेल नेल भोगेर आएका, अंगभंग भएर आएका, आफ्ना परिवारका सदस्य गुमाएर आएकाहरुलाई अपमान गरेको छ, सबलाई चोर भनेको छ, अलिकति सरम हुनुपर्दैन ?’ ओलीले प्रश्न गरे । तानाशाही व्यवस्था अन्त्य गर्न संघर्ष गरेकाहरुलाई अपमान गरेको भन्दै ओलीले लामिछानेले कुसंस्कार, कुसंस्कृति सिकाएको आरोप लगाए ।
‘जसले देशका लागि बलिदान गरेको छ, हिजो तानाशाहीविरुद्ध लड्दाखेरि अंगभंग भएको छ । परिवारका सदस्य गुमाएको छ, काखको छोरछोरी गुमाएको छ । आमाबाबु गुमाएको छ, श्रीमान गुमाएको छ, श्रीमती गुमाएको छ, टुहुरा टुहुरी हुनपरेको छ । हात गुमाएको छ, स्वास्थ्य बिगारेको छ, आर्थिक अवस्था डामडोल बनाएको छ’, ओलीले भने, ‘त्यसरी डेमोक्रेसी ल्याएको नेताहरु पार्टीहरुलाई अपमान गरेको छ, तथानाम बोलेको छ, कुसंस्कार, कुसंस्कृति, असभ्यता सिकाएको छ, यो सबै कुरासँग सतर्क हुनुपर्छ । यो देश बिगार्ने भाँड्ने तरिका हो, भडुवाहरुको तरिका हो ।’ ओलीले युवालाई पार्टी चाहिँदैन भनेर भ्रम फैलाउन खोजेको बताए ।
‘पार्टी विना दुनियाँ चलेको छैन, नेपालमा यस्तो हावा चलाइदिएको छ कि पार्टी चाहिँदैन’ उनले भने, ‘अमेरिकामा पार्टी चाहिन्छ, बेलायतमा पार्टी चाहिन्छ, फ्रान्स, चीन, जापान, भारतमा पार्टी चाहिन्छ, जहाँ पनि पाटी चाहिन्छ, यहाँचाहिँ फेद न टुप्पोका ‘।’ स्वतन्त्र उम्मेदवारले एकाध ठाउँमा जिते पनि देशभरका नागरिकको भावनाको प्रतिनिधित्व गर्न नसक्ने ओलीले बताए ।
‘भोलि सबै स्वतन्त्र जम्मा भए,कसको नीति मान्ने, कुनको घोषणापत्र मान्ने घोषणापत्र कसैको हुँदैन, अनि के कार्यान्वयन गर्छ उसले, यो कार्यान्वयन गर्छु भनेर आएको हुँदैन’ ओलीले भने, ‘अर्थात् यो हुने कुरा होइन, त्यसकारण भ्रम फैलाउन खोजिएको छ । हाम्रो देशको भविष्य अन्धकारमा पार्न राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल हुन सक्छ ।’





















