बागलुङ – वडाभित्रका नागरिकलाइ पर्ने पीरमर्का र गुनासो सुन्ने, पीडितका पक्षमा सिफारिस लेख्ने वडाध्यक्षको जिम्मेवारी हुन्छ । वडाध्यक्षले बहुविवाह गरेकालाई कारबाही र पीडितलाई न्याय दिनुपर्छ ।
बहुविवाह गरेमा वडामा दर्तासमेत हुँदैन । बहुविवाह गरेमा स्वत: रद्द हुने कानुनी व्यवस्थासमेत छ । तर जनताको पक्षमा काम गरिदिनुपर्ने व्यक्ति नै पीडक बनेर देखिएका छन् । जैमिनी नगरपालिका वडा नम्बर–९ का अध्यक्ष सन्दीप थापा (इन्द्र)ले घरमा पत्नी, छोराछोरी हुँदाहुँदै बहुविवाह गरेका छन् । उनको चारवटा पत्नीमध्ये दुईले छाडेको स्थानीयले बताए ।
मुलुकी अपराध संहिता (दफा १७५ को ४ नम्बर बुँदा) ले बहुविवाहलाई अपराध मानेको छ । उक्त अपराधको कसुर हेरेर १ वर्षदेखि ५ वर्षसम्म कैद सजाय र जरिवानासमेत तोकेको छ । सार्वजनिक पदमा बस्नेलाई अझै बढी सजाय हुन सक्छ । उनी एमालेबाट वडा अध्यक्ष निर्वाचित हुन् ।थापाको घरमा पत्नी, ३ छोरी र १ छोरा छन् । उनले ताराखोलाकी एक युवतीसँग अर्को विवाह गरेका हुन् । यसअघि थापाले विवाह गरेकी पहिलो र तेस्रो पत्नीले छाडेका थिए ।
थापाले ती युवतीलाई दुई पटकसम्म दबाब दिएर गर्भपतन गराएका थिए । तेस्रो पटक गर्भ बसेपछि उनले विवाह गर्छु भनेर युवतीलाई फकाएर राखेको स्थानीय बताउँछन् । दिदीको छोरी पढाउन सदरमुकाम बसेकी ती युवती थापाको प्रेम सम्बन्धमा परेकी थिइन् ।
सदरमुकामस्थित एक उद्योगमा काम गर्दै आएकी ती युवतीलाई ५ महिना पहिला थापाले दबाब दिएर जागिरबाट पनि छुटाएका थिए । अहिले भने ती युवती सम्पर्कमा आउन चाहेकी छैनन् । नियमित बस्ने डेरामा समेत आउन छाडेको छिमेकीले बताए । अधिकारकर्मीले खोजी गर्दापनि उनी कोठा छाडेर अन्यत्रै बस्न थालेकी हुन् । थापा स्वयंले ताराखोलाकी ती युवतीसँग विवाह गरेको स्विकारेका छन् । उनले युवतीको माइती पक्षलाइ विवाह स्विकार्न दवाव दिएका छन् । उनले जेठी पत्नीसँग सम्बन्धविच्छेद गरेर कान्छीसँग विवाह सम्बन्ध गाँस्ने गरी माइती पक्षमा सहमति गरेको समेत दाबी गरे । ‘यो हामी दुई परिवारको सहमतिको कुरा हो, कसैले चासो नराखे हुन्छ’ थापाले भने, ‘कानुनी समस्या परेमा जेठीलाई सम्बन्धविच्छेद गरिदिन्छु ।’ थापा सोझै सम्पर्कमा आउन नचाहेपछि चिनेजानेकाबाट फोन सम्पर्कमा आएका थिए ।





















