काठमाडौं – चर्को विरोध हुन थालेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले मुख खोलेका छन् । र्यापर एमबुद्धको सालिक बनाउन बजेट विनियोजन गरेपछि उनको चर्को आलोचना भएको थियो ।
आलोचना भएपछि बालेनले आफ्नो तलबबाट र्यापर यम बुद्धको सालिक बनाउने बताएका छन् । मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमार्फत् आफ्नो तलबबाट यम बुद्धको सालिक बनाउने बताएका हुन्।
उनले भनेका छन्, ‘म मेरो तलबबाट यम बुद्धको सालिक बनाउँछु। तपाईहरुको दिन शुभ रहोस्।’ यसअघि मेयर शाहले १५ लाख रुपैंया बजेट विनियोजन गरेका थिए । मेयर शाहले सालिक बनाउनकै लागि बजेट विनियोजन गरेको भन्दै चर्को आलोचना भएको थियो।
विरोधपछि महानगरको बजेट मार्फत् सालिक बनाउने निर्णयबाट पछि हटेका हुन्।
प्रदेश ऐनमा व्यवस्था भए अनुसार महानगरपालिकाका मेयरको तलब ४७ हजार व्यवस्था छ। अहिले काठमाडौं महानगरपालिकाले सालिक निर्माणका लागि १५ लाख रकम विनियोजन गरेको छ।
सो रकम तीन वर्षमा १६ लाख ९२ हजार रकम हुन आउँछ। बालेन्द्रले झण्डै ३ वर्षको तलब रकम खर्च गर्दा यमबुद्धको सालिक बनाउन विनियोजित रकम पुग्नेछ।





















