काठमाडौं – शिक्षक सेवा आयोगले शिक्षक लाइसेन्सको परीक्षामा आगू गरेको नेगेटिभ मार्किङको नियम परिवर्तन गर्ने भएको छ । यो नियम हटाएर अब नेगेटिभ मार्किङ नराख्ने तयारी भएको हो ।
खस्कँदै गएको नतिजालाई केही राहत दिनका लागि आयोगले लाइसेन्सको परीक्षामा केही सुधार गर्ने भन्दै नेगेटिभ मार्किङ हटाउने भएको हो ।
आयोगका उच्च अधिकारीका अनुसार शिक्षक छनोटका लागि लिएको तीनै तहको सामान्य विषयको परीक्षाको नतिजा लज्जास्पद आएपछि आयोगले शिक्षक अध्यापन अनुमतिपत्र (लाइसेन्स) को परीक्षामा वस्तुगत प्रश्नमा नेगेटिभ मार्किङ हटाएको छ। आयोगले विगतमा एउटा प्रश्न गलत भएमा २०५ नम्बर कट्टा हुने प्रावधान राखेको थियो ।
आयोगले २०७७ असारमा अघिल्लो वर्ष २०७६ लिएको अध्यापन अनुमतिपत्र परीक्षामा सहभागी ९४ प्रतिशत उमेदवार अनुत्तीर्ण भएका थिए । आयोगले असार २०७७ मा सार्वजनिक गरेको प्राथमिक तहको परीक्षाफल अनुसार कूल ६६ हजार ५६२ परीक्षार्थीमध्ये ३ हजार ८८३ जना अर्थात् ५।८३ प्रतिशत मात्र उत्तीर्ण भएका थिए । यस्तै, निम्नमाध्यमिक तहको परीक्षामा ४।६३ प्रतिशत र माध्यमिक तहको परीक्षामा १४।७३ प्रतिशत परीक्षार्थी मात्र पास भएका थिए ।
निम्नमाध्यमिक तहको परीक्षामा १ लाख २ हजार २८४ जना र माध्यमिक तहमा ५६ हजार २७६ जना उमेदवार सहभागी थिए । समग्रमा ८ प्रतिशत परीक्षार्थी मात्र अघिल्लो पटकको लाइसेन्स परीक्षामा पास भएका थिए ।





















