काठमाडौँ – काठमाडौँ महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) ले नयाँ नयाँ आइडिया ल्याउने गरेका छन् । बालेनलाई धेरैले आइडिया मास्टर मेयर भनेर पनि चिन्ने गरेका छन् ।
असार १५ गते देशभर धान दिवस मनाइयो । यही मेसो पारेर बालेन नयाँ आशाको सञ्चार गरेका छन् । बालेनले काठमाडौँमा उत्पादन हुने कुहिने फोहोरलाई मल बनाएर मलको हाहाकारलाई केही कम सकिने र यसका लागि महानगरपालिका क्रियाशील रहेको बताएका छन्।
बालेनको यो आइडियापछि सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । बालेनले यो कुरा पूरा गरिदिए उनलाई किसानले भगवानको रुपमा पूजा गर्ने भन्दै केहीले प्रतिक्रिया दिइरहेका छन् ।
असार १५ र राष्ट्रिय धान दिवसको शुभकामना दिँदै प्रमुख शाहले, जैविक फोहोरबाट मल बनाउने महानगरको सफलता र असफलताले देशभर नै उल्लेख्य फरक पार्नेमा आफू सचेत रहेको उल्लेख गरेका छन।
प्रमुख शाहले भनेका छन, ‘काठमाडौँमा वस्ती बस्नु, सम्पदाको सहर वा राजधानी बन्नुमा यहाँको उर्बरता र उब्जनीको ठुलो भूमिका छ। उर्बर माटोलाई खेती गर्न योग्य बनाउन माटोमा रगत र पसिना बगाउने किसानहरुको विशेष भुमिका छ।
हो, अहिले हाम्रा प्राथमिकताहरु झाँगिदै जाँदा यहाँका किसानहरुका मुद्दा कमजोर हुँदै गएका होलान वा कृषि नै सीमान्तकृत हुँदै गएको होला। तर, हामीलाई जे र जसले यहाँ ल्याइपुर्यायो, उसैलाई बिर्सने भन्ने हुँदैन।’ यसपालीको असार १५ र धान दिवसले सबैलाई किसान र कृषिप्रतिको जिम्मेवारी बोध गराउन सकोस भन्दै उनले शुभकामना व्यक्त गरेका छन्।





















