प्रचण्डका लागि केपी ओली भन्दा झन् कडा बनेर निस्किए घनश्याम भुसाल, हल्लियो खुमलटार !

काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सबैभन्दा ठूलो र चर्को आलोचक हुन् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली । अहिले एमालेभित्र ओलीको कट्टर आलोचकको रुपमा चिनिएका छन् घनश्याम भुसाल ।

उनै भुसालले आज प्रचण्डका लागि ओली भन्दा कडा बनेका छन् । भुसालले प्रचण्डलाई कडा जवाफ फर्काएका छन् । भुसालले एमालेमा माओवादीको बीउ छरेको भन्ने प्रचण्डको दाबीप्रति असहमति जनाएका छन् । वरिष्ठ वामपन्थी नेता सिद्धिलाल सिंहको जनअभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै भुसालले कुनै एउटा धारको बीउ अब नउम्रिने दाबी गरे ।

भुसालले भने, ‘कमरेड प्रचण्डले आज एमालेमा माओवादीको बीउ छरेर आएका छौं भन्नुभएछ । तर, उहाँले पनि ठीक ढंगले बुझ्न सक्नुभएन । अब एमालेको बीउ, माओवादीको बीउ, समाजवादीको बीउ चल्दैन, अब हाइब्रिड बीउ चाहिन्छ । अस्ति हामीले हाइब्रिड बनाएका थियौं त्यो भनेको नेकपा एउटा हाइब्रिड थियो । हाम्रो वुद्धि पुगेन भकारीमा आगो लगायौं । फेरि पनि हामी नेकपाको हाइब्रिड बीउ बनाउँछौँ ।’ भुसालले फेरि पनि नेकपा एकता गर्ने प्रण समेत गरे ।

के भनेका थिए प्रचण्डले ?ः नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ ले तत्कालीन नेकपाको तीन वर्षमा एमालेभित्र आफूले बीउ रोपेको भन्दै चाँडै नै त्यहाँभित्र पनि माओवादी विचार फल्ने दाबी गरेका थिए ।

बुधबार पेरिसडाँडामा विप्लव नेतृत्वको नेकपाका नेताहरूलाई माओवादीमा स्वागत गर्दै अध्यक्ष प्रचण्डले केपी ओलीको नेतृत्वका कारणमात्र अहिले एमालेमा आफूले रोपेको बीउ फक्रिन नपाएको बताएका थिए ।

प्रचण्डले भने, ‘तीन वर्षको मेरो अनुभवले भन्छ, हामीले हाम्रो बीउ रोपेर आएका छौं, हेर्नुहोला केही समयपछि फुल्छ फल्छ । एमालेभित्र पनि हजारौं क्रान्तिकारी छन्, केपी ओली नेतृत्वका कारणमात्र हो । त्यहाँ पनि नसकिएको होइन । त्यसैले माओवादीहरूमात्र मिलेर हुन्न, अन्य वामपन्थीहरू पनि मिलाउनुपर्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...