कैलाली – कैलालीमा एक जना कर्मचारी भिरमा हातखुट्टा बाँधेर फालेको अवस्थामा फेला परेका छन्।
डडेल्धुराको आलिताल गाउँपालिकामा कम्प्युटर अपरेटर पदमा कार्यरत लोकेन्द्रसिंह भण्डारी कैलालीको गोदावरी नगरपालिका–४ गाइमारेमा घाइते अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
४÷५ जनाको समूहले उनीमा आक्रमण गरेका थिए । उनी खुट्टामा बाँधेको डोरी खोलेर घिस्रिदै सडकसम्म पुगेपछि स्थानीयले थाहा पाएका थिए । स्थानीयले उनको उद्धार गरेर प्रहरीलाई खबर गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशदत्त भट्टले बताए।
अहिले प्रहरी घटनास्थल पुगेर अनुसन्धान सुरू गरेको छ। तीन जना मान्छेले घुमाउन लगिदेऊ भनेर गोदावरीको उकालोतिर भण्डारीलाई लगि कुटपिट गरी बाँधेर फालेको र उनको गाडी र पैसा लुटेर भागेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
यस्तै कुटपिट गरी कार लगेर फरार भएका तीन भारतीय नागरिक पक्राउ परेका छन् । उनीहरुलाई कैलालीको गोदावरी नगरपालिका–१ स्थित ऐश्वर्य सामुदायिक वनमा लुकेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरिक्षक वेदप्रकाश जोशीले बताए ।
‘पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय मालाखेतिको हिरासतमा राखिएको छ,’ प्रवक्ता जोशीले भने, ‘घाटाको कारण भने अझै खुलेको छैन, अहिले तीनै जनामाथि सोधपुछ भइरहेको छ ।’ सोमबार बिहान कञ्चनपुरबाट कैलालीको खानी डाँडासम्म जाने भन्दै उनीहरुले डडेल्धुराको आलिताल गाउँपालिकाका कम्युटर अपरेटर लोकेन्द्रसिंह भण्डारीलाई लिफ्ट मागेका थिए । पिडितका अनुसार कारमा तेल हालिदिने भन्दै तीनै जनाले गोदावरी नगरपालिका स्थित चुरेसम्म जान लिफ्ट मागेका थिए । तर कैलालीको गोदावरी नगरपालिका ४ स्थित बुढीतोलामा पुगेपछि उनीहरुले फोटो खिच्ने बहानामा भण्डारीलाई बाहिर निकालेर कुटपिट गरी रुखमा बाँधेर कारसहित फरार भएका थिए ।
कुटपिट गरी कार चोरी गर्नेमा भारतको हरियाणा सोनीपथ बस्ने २१ वर्षीय भगतसिंह, सोही ठाउँ बस्ने १८ वर्षीय शाहिल बादलिसे र २० वर्षीय सन्नी जाँट रहेका छन् । लुटिएको प्रदेश ३–०१–०२३ च ८७२१ नम्बरको कार पनि सामुदायिक वन जानेबाटोमा पर्ने पाठक पेट्रोल पम्प नजिक वेवारिसे अवस्थामा भेटिएको थियो ।





















