काठमाडौं – नागरिकको दैनिक जीवनमा प्रभाव पार्ने र नभइ नहुने पिउने पानीको अस्वभाविक मूल्यवृद्धि हुन लागेकोप्रति विरोध शुरु भएको छ । नेपाल बोटल वाटर उद्योग संघले पिउने पानीको जारमा मूल्यवृद्धि गरेपछि उपभोक्ता मारमा पर्ने निश्चित भएको छ ।
यसअघि बिक्रेता संघलाई १० रुपैयाँमा दिने जार अहिले १८ रुपैयाँ तोकिएको भन्दै उपत्यका बोटल तथा जारपानी बिक्रेता संघले आपत्ति जनाएको छ । बढ्दो महंगीसँगै केही मूल्य समायोजन स्वभाविक भएपनि एकैपटक जारमा ८ रुपैयाँ बढाउनु जनताको ढाड सेक्नु रहेको उपत्यका बोटल तथा जारपानी बिक्रेता संघले जनाएको छ ।
उद्योगीहरुले जारमा ८ रुपैयाँ बढाएर १८ रुपैयाँ कायम गरेपछि पानी वितरकहरुले हाल ३५ रुपैयाँसम्म जार बेच्नुपर्ने देखिएको छ । खुद्रा व्यापारीसम्म आइपुग्दा हालको पानीको मूल्य लागतसहित ५० देखि ६० रुपैयाँ पर्न आउने देखिएको छ ।
उद्योगीहरुको एकल निर्णयले जनता मारमा परेको भन्दै उपत्यका बोटल तथा जारपानी बिक्रेता संघले विरोध शुरु गरिसकेको छ । यद्यपि उद्योगीहरु यो निर्णय सच्याउने पक्षमा देखिएका छैनन् । उद्योगी र बिक्रेता संघबीच सहमति गरी जारको मूल्य १२ देखि १५ रुपैयाँसम्म बढाउनुपर्ने माग उठ्दै आएको छ ।
उद्योगीहरुले उपभोक्ताको समस्यालाई ध्यानमा राख्नुपर्ने भन्दै आवाज समेत उठ्न थालेको छ । पानीको अस्वभाविक मूल्यवृद्धिमा सरकारले पनि ध्यान दिनुपर्ने नागरिकहरुले बताएका छन् ।





















