काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेट्न आएकी एक महिलाले आत्महत्याको प्रसंग निकालेपछि कार्यालयमा सन्नाठा छायो । महानगरको वडा नम्बर ३२ कि ५३ वर्षीया मनमाया कार्कीले बुधबार (आज) आत्महत्याको प्रसंग निकालेपछि कार्यालयमा सन्नाठा छाएको हो ।
उनी बिहान ९ बजे मेयर शाहलाई भेट्न महानगरको कार्यालयमा पुगेकी थिइन् । टोलको खानेपानी, विद्युत र सडकको समस्या लिएर गएकी उनले साढे तीन घण्टा कुर्दा पनि भेट्न पाइनन् । मध्याह्न साढे १२ बजेसम्म बाहिरै कुरिन् । तर, बालेन मनमायालाई नभेटेरै कार्यकक्षबाट निस्किए । उनी महानगरका कर्मचारीसँग आक्रोशित भइन । त्यसपछि उनी काठमाडौं मेयरको सचिवालयतर्फ लागिन् ।
बालेनका स्वकीय सचिव भुपदेव शाहलाई भेटेर भनिन्, “हामीले जिताएको मेयर हो नि ! कति टाढा कोटेश्वरबाट आयौँ । आफैँले जिताएको मेयरलाई भेट्न नपाउने ?” यति भनिसकेपछि स्वकीय सचिव शाहले मनमायालाई, ‘भेट्नलाई समय लिनुभएको थियो ?’ भनेर सोधे । आक्रोशित मनमायाले ‘कति पटक समय लिने ?’ भनेर जवाफ फर्काइन् ।
मनमाया वडा नम्बर ३२ स्थित १०० घरधुरी खानेपानीकी अध्यक्षसमेत हुन् । उनले अगाडि भनिन्, “हाम्रो टोलमा पानी आउँदैन बत्ती छैन । हामी अस्ट्रेलियाका नागरिक त होइनौँ, यही देशका नागरिक हौँ । हामीले जिताएको मेयरलाई भेट्न नपाउने ? हामीले भोट नहाल्ने भन्दा छोरीले आत्माहत्या गरेर मर्छु भनी । ल हेर्नुस् हामीले खानेपानी र बिजुली बत्ती नपाएको कत्ति भयो । वडामा गरेको गुनासो कसैले पनि सुनेन । बत्तीको समस्या पनि उस्तै छ । कतिपटक समय लिने हामीले ?’
शाहले सचिवालयबाट फेरि समय लिन र त्यसपछि आफ्नो समस्याको सबै डकुमेन्ट लिएर आउन आग्रह गरे । जवाफमा मनमायाले भनिन, ‘भोट दिएर जिताएको त हामीले बालेन छोरालाई नै हो । मेयरलाई भेट्न पाइँदैन भनेको भए त हामीले बालेनलाई भोटै हाल्दैनथ्यौँ नि !’
सुरुमा टोलका खानेपानी, सडक, चोरीलगायतका समस्या लिएर मनमाया वडा कार्यालयमा गएकी थिइन् । तर, कसैले पनि उनको गुनासो सुनेन । त्यसपछि उनले कल सेन्टरमार्फत महानगरमा गुनासो गरिन् । तर पनि सम्बोधन हुने छाँटकाँट देखिएन । त्यसपछि आफैँ मेयरलाई नै भेट्छु भनेर उनी महानगर कार्यालयमा पुगेकी थिइन् ।
बालेनलाई अरूले भेट्न पाएको तर आफूले मात्रै नपाएको गुनासो उनले गरिन् । काठमाडौं महानगरपालिका वडा नम्बर ३२ को कार्यालयले मनमायाले पेस गरेको निवेदनका आधारमा कोटेश्वर सहयोगीनगरमा नयाँ विद्युतको पोल राख्न नेपाल विद्युत प्राधिकरणलाई ०७८ पुस ८ गते पत्रमार्फत आग्रह गरेको थियो । तर, नेपाल विद्युत प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराई भने पोल राख्ने विषयमा आफूलाई थाहा नभएको बताउँछन् ।
खानेपानीका सम्बन्धमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले गत वर्ष कात्तिक १ गते मनमायाको निवदेनका आधारमा वडा नम्बर ३२ को कार्यालयलाई सडक अन्न स्वीकृति दिन आग्रह गरेर पत्र लेखेको थियो ।
तर, कुनै पहल नभएपछि स्थानीयले कात्तिक १० गते आफूहरूको धारामा पानी नआएको गुनासो गरेका थिए । उनीहरूले उपत्यका खानेपानी लिमिटेडलाई पत्र लेखेर धारामा पानी आउनले व्यवस्था मिलाइदिन आग्रह गरेका थिए ।
तर, समस्या समाधान भने नभएको मनमायाको गुनासो छ । अर्कोतिर लामो समयदेखि समस्यामा रहँदा पनि विद्युत र खानेपानी महसुल तिर्दै आएको उनको भनाइ छ ।





















